बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचारका लागि आइसोलेसनमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेली रहेका छन् ।
उनीहरुको गएराति मृत्यु भएको हो । दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।
गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।