४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा सभ्यतागत दृष्टिले समेत महत्त्वपूर्ण

हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा सभ्यतागत दृष्टिले समेत महत्त्वपूर्ण
अ+ अ-

काठमाडौं ।  मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमवत्‌ खण्डमा बसोबास गर्ने विविध जातजाति र समुदायको भाषा, साहित्य, कला, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने तथा सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यसहित ‘हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलन २०८१’ आयोजना गरेकोमा म आयोजकहरूलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । विगतदेखि नै यस कार्यलाई निरन्तरता दिंदै सम्मिलनको नयाँ संस्करण आयोजना गर्नुभएकोमा पनि तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ ।

यस सम्मिलनबाट यो भू–खण्डमा बसोबास गर्ने विविध समुदाय बिचको आपसी एकता र सद्‍भावलाई सुदृढ तुल्याउनुका साथै हिमवत् खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरेको छु ।

यस अवसरमा, सम्मिलनमा सहभागी हुन भारत, भूटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड लगायत विभिन्न मुलुकहरूबाट आउनु भएका विद्वत् व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दै यहाँहरूको नेपाल बसाइ सुखद् रहोस् भन्ने कामना गर्दछु ।

हिमवत् खण्डको केन्द्रमा रहेको नेपाल सभ्यता र ज्ञानको आदिभूमि हो । यही भूमिमा सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको विश्वास गरिन्छ । हिमवत् खण्ड वास्तवमा एक पौराणिक भूगोल हो, जसका बारेमा अनेक कोणबाट अध्ययन अनुसन्धानहरू क्रमश: हुँदै जानेछन् । यस सम्मिलन जस्ता पहलहरूले यस क्षेत्रलाई साहित्यिक एवं सांस्कृतिक भूगोलको आकार दिन सफल हुनेछन् भन्ने मलाई विश्वास लागेको छ ।

हाम्रा पौराणिक गाथाहरूले भन्दछन कि – हिमवत् खण्डअन्तर्गत नै सप्तगण्डकी क्षेत्रमा काश्यप र पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा राजा जनक, अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र कपिलवस्तुमा साङ्ख्य दर्शनका प्रवर्तक महिर्षि कपिल जस्ता दार्शनिक तथा वाल्मीकि, व्यास वा कालीदास जस्ता महान् कविहरूको जन्म भयो । यस भूखण्डमा शाक्य सभ्यता, खस आर्य सभ्यता, किरात सभ्यता, विदेह सभ्यता र वागमती सभ्यता जस्ता समृद्ध सभ्यताहरू विकसित भएका छन्, जसले दक्षिण एसिया र पूर्वी एसियाको सभ्यता तथा संस्कृतिमा गहिरो प्रभाव पारेका छन् । यसरी सर्वप्राचीन ज्ञानसभ्यता, वाङ्‍मयको प्रवर्तन र विस्तार भएकाले नै हिमवत् खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्‍गम र विश्व सभ्यताको आदिभूमि मानिएको हो । हामी सबै जानकार नै छौं- यसै पावन भूमिमा विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्व र मानवतावादको प्रकाश प्रसारित भयो ।

हिमवत् खण्डमा विकसित सभ्यताहरू दार्शनिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले समृद्ध रहेका छन् । यस क्षेत्रमा हुर्किएका वैदिक संस्कृति, योग, ध्यान, आयुर्वेद तथा कर्म-धर्मको सिद्धान्त यस सभ्यताका मौलिक विशेषता हुन्, जसले मानव र प्रकृति बिचको सन्तुलन, आध्यात्मिक उन्नति तथा सामूहिक सद्‍भावमा केन्द्रित रही विश्व सभ्यतालाई नै गहिरो प्रभाव पार्न सफल भएका छन् । त्यसैले पश्चिमी मुलुकहरूले समेत यहाँका ज्ञान र परम्पराहरूलाई अनुसरण गरिरहेका छन् । यो हाम्रा लागि गौरवको विषय हो ।

हिमवत् खण्डभित्र बसोबास गर्ने विविध समुदाय बिच कला, साहित्य र संस्कृतिको आदानप्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्राचीन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक छौं । तथापि, हाम्रा बिचमा सभ्यताको उही साझा धागो छ, अनि संस्कृतिको त्यही सुन्दर सेतु छ, जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ ।

अवश्य पनि हाम्रा बीचमा भाषिक भिन्नताहरू छन्, हाम्रा सोच्ने तरिकाहरू फरक छन् र हाम्रा आफ्नै राष्ट्रिय कर्तव्य एवं दायित्वहरू छन् । ती भिन्नतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विशेषता मान्नु पर्दछ भन्ने मलाई लाग्दछ । तिनै विशेषताले हामीलाई अझ विशेष बनाउन मद्दत गर्छन् र हिमवत् खण्ड सभ्यताको साझापनाले हामीलाई एकअर्कासँग अभिन्न राख्न पनि मद्दत गर्छन् । यसकारण मलाई लाग्दछ- हामी भिन्न भइकन पनि एकै छौं, विविध भइकन पनि साझापनका सूत्रमा आबद्ध छौं । हाम्रा राष्ट्रहरूका सन्दर्भमा समेत यो कुरा उत्तिकै लागू हुन्छ ।

विभिन्न देश वा समुदायका सङ्गीत, चलचित्र, पुस्तक, भाषा र परम्पराहरूको आदानप्रदानले सांस्कृतिक विविधताप्रति सम्मान र रुचि बढाउँछ, जसले मानवीय सम्बन्धलाई अझ नजिक ल्याउँछ । यसरी, कला र साहित्यले हाम्रा भौगोलिक सिमाना पार गर्दै नवीन चिन्तन, सहिष्णुता र सांस्कृतिक समन्वयको मार्ग खोल्दछ, जसले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यसअघि २०७५ साल असारमा २०५औँ भानु जयन्तीका अवसरमा तीनदिने हिमवत् खण्ड कला साहित्य सम्मिलनको आयोजना गरेको थियो । सोही सम्मिलनको निरन्तरताको रूपमा यस पटक कला, साहित्यका अतिरिक्त संस्कृतिलाई समेत समावेश गरी यो वृहत् सम्मिलनको आयोजना भएको मैले जानकारी पाएको छु । यस सम्मिलन अन्तर्गत कला, साहित्य र संस्कृतिका बारेमा गरिने अन्तरक्रियाबाट यस भू–खण्डको महत्ता र गरिमालाई उजागर गर्न थप मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ ।

हिमवत् खण्ड अन्तर्गत नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरूले हाम्रा समुदायका साझा भाषा, संस्कृति, धर्म, मूल्यमान्यता र पहिचानको रक्षा गर्नुभएको छ । हिन्दू, किरात र बौद्ध जस्ता साझा धार्मिक आस्था र परम्पराले नेपाली भाषीहरूको जीवनशैलीलाई विशिष्ट पहिचान दिएर एकताको भावना सिर्जना गरेको छ । साथै, समुदाय बिचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक आदान-प्रदानले नेपालीभाषी पहिचानलाई बलियो बनाउँदै हिमवत् खण्ड क्षेत्रमा फैलिएको नेपालीपनलाई एक साझा सांस्कृतिक विरासतमा बाँधेको छ ।
आज विश्वव्यापीकरणको प्रक्रिया तीब्र बनिरहेको सन्दर्भमा राष्ट्रियता पनि भूगोलको सीमारेखाभित्र मात्र सिमित रहेको छैन ।

जीविकोपार्जन र फरक भविष्यको खोजीमा मानिसहरू एक मुलुकबाट अर्को मुलुकमा बसाई सर्न सक्दछन्, तर आफूले अँगालेका भाषा, संस्कृति, संस्कार र विश्वास प्रणाली पनि उनीहरूले आफूसँगै लिएर गएका हुन्छन् । विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीभाषी समुदायलाई यही साझा संस्कृति, विश्वास र चिन्तन प्रणालीले भावनात्मक एकताको सूत्रमा बाँधिरहेको छ । राष्ट्रियताको यस किसिमको विस्तारित अवधारणालाई अब हामी सबैले आत्मसात गर्नु पर्दछ । तसर्थ, हिमवत् खण्डभित्रका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषी समुदायका बिचमा भावनात्मक एकतालाई सुदृढ बनाउन यस हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलनले महत्वपूर्ण योगदान पुर्‍याउने छ भन्ने मैले विश्वास लिएको छु ।

हिमवत् खण्डको प्राचीन सभ्यता वैदिक, बौद्ध, किरात तथा अन्य मौलिक संस्कृतिहरूको समृद्ध संगम हो, जसले दर्शन, कला, विज्ञान, आयुर्वेद, योग र स्थापत्य कला जस्ता विविध ज्ञान प्रणालीहरूलाई विकसित गरेको थियो । तर, आधुनिकता र पश्चिमी प्रभावको तीव्रता बढेसँगै यी मौलिक परम्परा र ज्ञान प्रणालीहरू विस्मृत हुँदै गएका छन् । यस अवस्थामा, हाम्रो सांस्कृतिक धरोहरको पुनर्जागरण तथा पुनर्उत्थान अत्यावश्यक छ, जसले हाम्रो सभ्यताको मौलिक पहिचान संरक्षित हुनुका साथै समकालीन समाजलाई पनि मार्गदर्शन गर्न सकोस् ।

तसर्थ अनुसन्धान, शिक्षा, प्रविधि तथा नवप्रवर्तनको माध्यमबाट प्राचीन ज्ञानलाई वर्तमान आवश्यकतासँग समायोजन गर्दै युवा पुस्तालाई यसको महत्त्वबारे जागरूक गराउनु जरुरी छ । यस गौरवशाली सभ्यतालाई संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्नका लागि सम्बद्ध सबैको समर्पण, अध्ययन र प्रयास अपरिहार्य रहेको छ ।

हिमवत् खण्डको ताजका रूपमा रहेको हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा सभ्यतागत दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ । हिमालयले प्राकृतिक रूपमा विश्वको मौसम प्रणालीलाई सन्तुलनमा राख्नुका साथै यहाँको जैविक विविधता र वातावरणीय सन्तुलनका लागि पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्दछ । तर, जलवायु परिवर्तनका कारण हिमालहरूमा तीव्र रूपमा हिउँ पग्लन थालेको छ भने हिमताल विस्फोट, चरम मौसम परिवर्तन, जैविक विविधताको ह्रास, पानीको स्रोतमा कमी जस्ता कारणले स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर परिरहेको छ ।

साथै, यसबाट एकातिर कृषि तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ भने अर्कोतिर जैविक विविधताको विनाशले पारिस्थितिक प्रणालीको सन्तुलनलाई खल्बल्याइरहेको छ । हिमवत् खण्डका यी साझा चुनौतीहरूको सामना गर्न वातावरणीय संरक्षण, जलस्रोत व्यवस्थापन, हरित ऊर्जा प्रवर्द्धन तथा स्थानीय समुदायलाई जलवायु अनुकूलन रणनीतिमा सहभागी गराउनु पर्दछ । यसका लागि, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नवीकरणीय ऊर्जा उपयोगलाई प्राथमिकता दिएर हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु आवश्यक छ ।

अन्तमा, नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय एवं दूरद्रष्टा राजनीतिज्ञ जननेता मदन भण्डारीको नाममा स्थापित भई भाषा, साहित्य, ललितकला, गीतसङ्गीत तथा दर्शन आदि क्षेत्रमा क्रियाशील मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यस महत्वपूर्ण हिमवत् खण्ड कला कला–साहित्य–संस्कृति सम्मिलनको आयोजना गरेकोमा पुन: धन्यवाद दिंदै सम्मिलनको पूर्ण सफलताको कामना गर्दछु ।

विद्यादेवी भण्डारी (पूर्व राष्ट्रपति)ले हिमवत्‌ खण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१ को उद्‍घाटन सत्रमा गर्नुभएको सम्बोधन