२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी



अ+ अ-

गलकोट । जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लाग्नुभएका उहाँ अहिले बागलुङका सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।

उहाँले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आउनुभएको छ ।

उहाँले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाउनु भएको थियो । उहाँ कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रुपमा सम्मानित हुँदै आउनुभएको छ । “निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच–छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भन्नुभयो, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”

विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारीखेती थाल्नुभएका खत्री यस क्षेत्रकै सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।

स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लाग्नुभएका खत्रीले वार्षिक रु १२ देखि १४ लाख आम्दानी गर्दै आउनुभएको छ । “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, छ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु १०० सम्म परेकाले राम्रो आम्दानी भयो,” उहाँले भन्नुभयो । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पु¥याउनुभएको छ ।