काठमाडौँ । नवलपरासी पश्चिमको बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप हुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।
झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको हो । स्थिती नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ ।
झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएका छन् । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको प्रहरीले जनाएको छ ।
के थियो घटना ?
तीन महिनाअघि सो गाउँका युवायुवतीले भागी विवाह गरेको विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।
सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।
तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार जारी छ ।
यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका हुन् ।










