काठमाडौँ । सरकारले नो केबलकार समूहलाई वार्तामा बोलाएको छ ।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारविरूद्ध आन्दोलन गरिरहेका समूहलाई सरकारले सोमबार वार्तामा बोलाएको हो ।
‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ ।’ वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ ।
उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन पनि भनिएको छ ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुनु हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली र आन्दोलन पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षमा पुग्न भने सकेको छैन ।











