२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

जसपा भित्र पदाधिकारी विवाद

जसपा भित्र पदाधिकारी विवाद
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवले एकीकृत जसपामा वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएका छन् । तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलमा अध्यक्ष रहेका महन्थ ठाकुर जसपाको अध्यक्ष र अर्का अध्यक्ष राजेन्द्र महतो वरिष्ठ नेताको जिम्मेवारीमा छन् । जसपा स्रोतका अनुसार भण्डारी, यादव, झा र राजकिशोरले ठाकुरबाट आफूहरूलाई धोका भएको आरोप लगाउँदै आएका छन् । जसपा कार्यकारिणी समितिमा ठाकुर र महतोले आफू निकटका नेतालाई जिम्मेवारी दिएको तर आफू निकटका नेतालाई वास्ता नगरेको आरोप चारै नेताले लगाउँदै आएका छन् ।

‘चारै जना नेताले ठाकुरजीले आफूहरूलाई धोका दिएको आरोप लगाउँदै आउनुभएको छ,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘असन्तुष्ट चारै जना नेता महतोजीले जस्तै आफूहरू पनि वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडानमा हुनुहुन्छ ।’ चार जना नेताले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान लिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीबाट पनि उही संख्यामा वरिष्ठ नेता राख्दा भद्रगोल हुने बताउँदै मिलाउन आग्रह गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकीरण गरेर जसपा घोषणा भएको थियो । समाजवादीतर्फ कुनै विवाद नभएको तर राजपातर्फ समस्या भएकाले पदाधिकारी चयन गर्नमा ढिलाइ भएको सचिवालयका एक सदस्यले बताए । साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै टुंगो लगाउन अधिकार दिएको थियो ।

जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । यिनै पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाइएको र आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन तथा नेताहरूको वरीयता टुंगो लगाउन अधिकार दिएको हो । तर सचिवालयभित्रै अधिकारको बाँडफाँटका विषयलाई लिएर विवाद हुनुका साथै चार नेताको अडानले विवाद थप पेचिलो बन्दै गएको छ । जिम्मेवारी बाँडफाँटका विषयमा अध्यक्षद्वय ठाकुर र यादवबीच विवाद कायमै छ भने अन्य नेताको अडानले समस्या बढ्दै गइरहेको छ । अन्य नेताको जिम्मेवारी बाँडफाँट, मर्यादाक्रम, पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएपछि उनीहरू आफ्नै लागि विवाद गरिरहेकाले समस्या भएको जसपा स्रोतको दाबी छ । सचिवालयको यस बीचमा पटक पटक बैठक बसेको छ । तर एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफ्नो अडानबाट पछाडि नहट्दा भद्रगोलको अवस्था रहेको छ ।

जसपा विधानअनुसार ५३ सदस्यीय कार्यकारिणी समिति छ । तर यहाँ दुई जना अझै चयन गर्न बाँकी छ । यही कार्यकारिणीमा रहेका सदस्यहरू नै पदाधिकारी हुनेछन् । वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्तालगायतका पदाधिकारी आवश्यकताअनुसार चयन गरिने विधानमा व्यवस्था छ । यी पदाधिकारी कार्यकारिणी सदस्य भएकाले मात्रै पाउनेछन् । १ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउन शीर्ष नेताहरूबीचमा गृहकार्य भइरहेको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारीको संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताइएको छ । तर, जसपामा राजपाले २६ मात्र पदाधिकारी पाएपछि तत्कालीन राजपा नेताहरू तनावमा छन् । तत्कालीन समाजवादी पार्टीमा पदाधिकारी रहेकाहरू स्वतः एकीकृत पार्टीमा सोही जिम्मेवारीमा हुनेछन् । राजपाको आन्तरिक किचलोले पदाधिकारी एवं जिम्मेवारी बाँडफाँटमा समस्या भएको जसपा स्रोतले जनाएको छ ।

यसका साथै पार्टीका केन्द्रीय तहका अन्य निकायहरू सल्लाहकार, विज्ञ परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेश विज्ञ परिषद्, प्रादेशिक आयोगहरू, गैरभौगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी नै छ । यी सबै प्रक्रिया पूरा गरेर जसपा महाधिवेशनमा जान्छ । तर, महाधिवेशन मिति, सिद्धान्त, विचारलगायत विषयमा अझै केही टुंगो लागेको छैन । राजधानी दैनिक