२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

नेपाली ईतिहासमा कहिले कहिले रोकियो इन्द्रजात्रा ?

नेपाली ईतिहासमा कहिले कहिले रोकियो इन्द्रजात्रा ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । त्यसो त यतिबेला इन्द्रजात्रा मात्र होइन, उपत्यकामा मनाइने सबैजसो जात्राहरू ठप्प छन् । ठूलो विवादबीच ललितपुरमा सुरु गरिएको रातो मछिन्द्रनाथको जात्रा पनि टुंग्याउन नसकेर अहिले ‘जात्रा’ भएको छ । ‘जात्रा’ हुनबाट जोगिएको कान्तिपुरको अर्को जात्रा हो, इन्द्रजात्रा । कोरोना महामारीका कारण अरु जात्रा–पर्व रोकिएजस्तै यसपालि इन्द्रजात्रा पनि रोकियो । तर, इन्द्रजात्रा रोकिनु भनेको काठमाडौंका लागि एउटा जात्रा मात्रै रोकिनु होइन । जात्रा रोकिनु काठमाडौंबासीको दिनचर्याको एउटा ठूलो हिस्सासमेत रोकिनु हो । ललितपुरका लागि रातो मछिन्द्रनाथ वा भक्तपुरका लागि बिस्केट जात्रा जति महत्वपूर्ण छ, कान्तिपुरका लागि इन्द्रजात्रा उति नै महत्वपूर्ण छ । काठमाडौंमा इन्द्रजात्रा कहिलेदेखि आरम्भ भयो, यसको स्पष्ट इतिहास अझै भेटिएको छैन । इतिहासकार बाबुराम आचार्यले यसलाई नेपालकै सबैभन्दा प्राचीन जात्रा भनेका छन् भने यस विषयमा अध्ययन गरेका फ्रान्सेली विद्वान जेराँ तोफाँले यसलाई काठमाडौंको सबैभन्दा मुख्य जात्रा मानेका छन् ।

हरेक वर्ष भाद्रशुक्ल द्वादशीका दिन सुरु हुने यो इन्द्रजात्रा लगातार आठ दिनसम्म चल्ने गर्छ । जात्रा अवधिभरि श्री कुमारीको रथयात्रा, दीप्याखं, लाखे, पुलुकिसि, दागिं, बौमत, उपाकु परिक्रमा, महाकाली नाच, सवःभक्कु नाच, दस अवतार आदि जस्ता दर्जन जति नाच एवं सहायक जात्रा सञ्चालन हुने यो जात्राको पहिलो र सबैभन्दा महत्वपूर्ण अंग भनेको यःसिं उठाउने अर्थात् इन्द्रध्वजोत्थान हो । हनुमानढोका दरबारसामु यःसिं उठाएपछि इन्द्रजात्रा आरम्भ हुन्छ । इन्द्रध्वजोत्थानको यो अनुष्ठान कहिलेदेखि आरम्भ भयो, इतिहासले आजसम्म पत्ता लगाएको छैन । कोही गुणकामदेवले सुरु गरेको मान्छन् भने कोही लिच्छवि राजा मानदेवका हजुरबुबा शंकरदेवले सुरु गरेको भन्छन् । तथापि जुनबेलादेखि सुरु भएको भए पनि जब यो सुरु भयो त्यसपछि भने आजसम्म इन्द्रजात्रा पूर्ण रूपमा रोकिएको इतिहास पाइँदैन ।

वि.सं. १८२५ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा भने इन्द्रजात्रा बिथोलिएको थियो । तर, पूर्ण रूपमा रोकिएको चाहिँ थिएन । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुभन्दा महिनौं अघिदेखि नै काठमाडौंलाई नाकाबन्दीमा पारेका थिए, जसले गर्दा काठमाडौंमा लत्ताकपडा र अन्य सामग्रीको हाहाकार मच्चिएको थियो । महँगी आकाशिएर सर्वसाधारण जनताले धान्न नसकिने अवस्था आइपुगेको थियो । यस्तै हाहाकारमै इन्द्रजात्रा पनि नजिक आइपुग्यो । यस्तोमा इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने विषयमा दरबारभित्र खुब छलफल चल्यो । इन्द्रजात्रा त्यतिबेला पूर्ण रुपमा राजकीय पर्व थियो । इन्द्रजात्राकै अवसर पारेर तत्कालीन राजा जयप्रकाश मल्लले श्री कुमारीको रथ जात्रा आरम्भ गरेको पनि भर्खर दस वर्ष पुग्दै थियो ।

राजा जयप्रकाश मल्लले वि.सं. १८१४ मा श्री कुमारीको स्थायी निवासका रूपमा हनुमानढोका दरबार परिसरमै कुमारी घर बनाई त्यसको एक वर्षपछि श्री कुमारीलाई पाँग्रासहितको रथमा राखी नगर परिक्रमा गराउने चलन सुरु गरेका थिए । कुमारीको उक्त रथयात्रामा राजा जयप्रकाश मल्ल आफैं पनि सहभागी हुने गर्थे । राजा आफैं कुमारी रथमा विराजमान भई यात्रा अघि बढाउने भएकोले टोल टोलमा मानिसहरू राम्रा राम्रा लुगा लगाएर श्री कुमारीलाई पूजा अर्पण गर्न आउने गर्थे । यसरी टोलटोलमै रथलाई रोक्दै पूजा ग्रहण गर्दै सुस्तरी अघि बढ्दा कुमारीको रथयात्रा सम्पन्न हुन करिब २२ घन्टा जति लाग्ने गर्थ्यो । साँझ आरम्भ भएको रथयात्रा आफ्नो क्षेत्र परिक्रमा गरी पुनः हनुमानढोका फर्कंदा बिहानीको झिसमिसे भइसकेको हुन्थ्यो । रातभरि लाखे, पुलुकिसि, दीप्याखं, महाकाली नाच, सवःभक्कु नाचको प्रदर्शन र त्यसमा बजाइने बाजागाजाको ध्वनीले सम्पूर्ण काठमाडौं नै उल्लासको समुद्रमा तैरिरहेको हुन्थ्यो ।

तर, वि।सं। १८२५ को इन्द्रजात्राचाहिँ उल्लासमय थिएन । नाकाबन्दीले पूरै कान्तिपुर थिलथिलो भएका कारण उक्त वर्षको इन्द्रजात्रा मनाउने वा नमनाउने भन्ने अन्यौलमा थियो । लामो छलफलपछि राजा जयप्रकाश मल्लले इन्द्रजात्रा मनाउने आदेश दिए । त्यस्तो अवस्थामा पनि इन्द्रजात्रा पर्व मनाउने उनको निर्णय दुइटा उद्देश्यमा आधारित थियो । पहिलो, शत्रुले नगर घेरे पनि आफूलाई त्यसले कुनै असर गरेको छैन भन्ने मनोवैज्ञानिक सन्देश प्रवाह गर्नु । अर्को, यदि शत्रु आइहाले पनि श्री कुमारीले रक्षा गर्ला नि भनेर विश्वास गर्नु तर, संकटबीच इन्द्रजात्रा मनाउने निर्णय भए पनि जनतामा उत्साह नभएका कारण नाचगान र बाजागाजा भने स्थगित गरिएको थियो । त्यसैले उक्त वर्षको इन्द्रजात्रा अत्यन्त सादा थियो । इतिहासकार आचार्यका अनुसार, जात्रा सामान्य भएकाले उक्त वर्षको जात्रामा मानिसहरू पनि खासै सहभागी भएका थिएनन् । धेरै त आ–आफ्नो घरमै सुतिरहेका थिए ।

वि।सं। १८२५ भाद्रशुक्ल चतुर्दशी आइतबार राति जात्रा चलिरहेकै बेला पृथ्वीनारायण शाहले तीन ठाउँबाट घेरी काठमाडौं आक्रमण गरे । गोर्खाली सेना नगर प्रवेश गर्दा श्री कुमारीको रथयात्रा नगरको तल्लो क्षेत्र ९क्वःने लागा० को जैशीदेवल पुगिसकेको थियो । हनुमानढोका दरबारमा गोर्खाली सेना आइपुग्दा जयप्रकाश मल्लका केही सैनिकले प्रतिकार पनि गरेका थिए । तर, त्यो २र४ घडी (एक घडी बराबर २४ मिनेट) भन्दा बढी टिक्न सकेन । ‘युद्ध’का क्रममा कान्तिपुरका सैनिकले पड्काएको बारुदमा परी गोर्खाली सेनाका तुलाराम पाँडेको मृत्युसमेत भएको कुरा भाषा वंशावलीमा उल्लेख छ । लड्न नसकी भागेका सैनिकहरूले जैशी देवल पुगी राजा जयप्रकाश मल्ललाई गोर्खाली आक्रमणको जानकारी दिए ।

जयप्रकाश मल्ल श्री कुमारीको रथलाई त्यहीं छोडी केही सहयोगीहरूका साथ टेकूको बाटो हुँदै ललितपुर भागे । राजा भागेपछि जात्रा अलपत्र भयो । उता कुमारीघर छेवैको डबलीमा राखिएको सिंहासनमा गोर्खाली राजा पृथ्वीनारायण शाह बसिसकेका थिए । उनले आफ्ना भाइहरूलाई पठाई अवरुद्ध रथयात्रालाई पुनः सञ्चालन गरी हनुमानढोका दरबार परिसर भित्र्याए । त्यसपश्चात जयप्रकाश मल्लले जस्तै पृथ्वीनारायण शाहले पनि श्री कुमारीको खुट्टा ढोगी दरबार प्रवेश गरे । काठमाडौंका स्थानीयवासीको मन जित्न पनि श्री कुमारीप्रति आस्था प्रकट गर्न पृथ्वीनारायण शाह बाध्य थिए ।

यसरी देशमा शाहवंशीय राजतन्त्र सुरु भएको वर्ष इन्द्रजात्रा बिथोलिन पुगेको थियो । त्यसपछि देशबाट शाहवंशीय राजतन्त्र अन्त्य भएको वर्ष पनि इन्द्रजात्रा सामान्य बिथोलिएको थियो । २०६५ सालको भदौमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिका रूपमा डा। रामवरण यादवले पहिलोपटक इन्द्रजात्रामा सहभागिता जनाएका थिए । उक्त वर्ष भदौ ५ गते इन्द्रजात्राको अन्तिम दिन नानीचायाःको तयारी हुँदै थियो, अचानक संस्कृति मन्त्रालयबाट एउटा पत्र आयो, जसमा लेखिएको थियो– अब उप्रान्त राज्य कोषबाट कुनै पनि धार्मिक कार्यमा बलि दिन रोकिएको छ । उक्त निर्णय अनुसार इन्द्रजात्रामा सहभागी लाखे, पुलुकिसि, सवःभक्कु आदि नाचलाई परम्परागत रूपमा प्रदान गर्दै आइरहेको बलि पनि रोकिन पुग्यो । सांस्कृतिक कार्यमा प्रदान गरिँदै आइरहेको बलि रोकिएको खबरले इन्द्रजात्राका जात्रालुलाई आक्रोशित बनाइदियो । र, क्षणभरमै जात्रा भद्रगोल हुन पुग्यो ।

रथ तान्ने कि नतान्ने भन्नेमै विवाद उत्पन्न भयो । सरकारविरुद्ध नाराबाजी सुरु भयो । के भएको हो भक्तजनहरूले जान्न सकेनन् । अन्ततः नाराबाजी, प्रहरी हस्तक्षेप र अन्यौलपूर्ण उल्लासमा श्री कुमारीको रथयात्रा अघि बढ्यो । तर, त्यो गन्तव्यसम्म भने पुग्न सकेन । बीच बाटोमै रथहरूलाई अगाडि बढ्न दिइएन । राति अबेरसम्म पनि रथ अघि बढ्न नसकेपछि जीवित देवी एवं देवताहरू श्री कुमारी, श्री गणेश र श्री भैरवलाई बीच बाटोबाटै रथबाट निकाली आ–आफ्नो निवास फर्काउनुपर्‍यो ।

जात्रा सकिएपछि राष्ट्रप्रमुखले श्री कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा पनि उक्त वर्ष तोडियो । उक्त आन्दोलनको बलमा सरकारले गठन गरेको कार्यदलले जात्राका लागि खर्च व्यवस्थापन गर्न नसक्ने, गुठी संस्थान खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । इन्द्रजात्रा बिथोलिएको त्यो दोस्रो घटना थियो । त्यसपछि इन्द्रजात्रा रोकिएको तेस्रो घटना अहिले नै हो । यसअघि यो जात्रा दुईपटकसम्म आंशिक मात्रै रोकिएको थियो भने यसपालि पूर्ण रूपले स्थगित भयो । यो केवल रथ तान्ने र नाचगान मात्रै चल्ने जात्रा होइन । इन्द्र स्वर्गका समेत देवता हुन् । त्यसैले यस वर्ष स्वर्गवास भएका आफ्ना आफन्तको नाममा बाटोभरि काँचो माटोको दियो बाल्दै उपाकु परिक्रमा गर्ने, इन्द्रकी आमाको प्रतीक स्वरुप निकालिने दागींको सँगसँगै काठमाडौंको तल्लो भेग र माथिल्लो भेग घुम्दै जाने, श्री कुमारीको रथयात्रा सँगसँगै बत्ती राख्दै जाने जस्ता आम जनसमुदाय सहभागी हुनुपर्ने सांस्कृतिक कार्यहरू गर्ने परम्परा पनि रहँदै आएको छ ।

यसपाली इन्द्रजात्रा बिथोलिएको यो घटनाले काठमाडौंवासीलाई आफ्ना दिवंगत आफन्तका लागि स्वर्गको कामना गर्न नपाउनुको दुःखले मात्र होइन, इतिहासमा इन्द्रजात्रा बिथोलिएकै दिन आफ्नो स्वर्गजस्तो राज्य गुमेको त्रासदले पनि झस्काइदिएको छ । (कान्तिपुर दैनिक १७ गते)