काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरुले छानविन गरिरहेको बताउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानविन नहुने बताउनु भयो । उहाँले छानविन गर्ने कानून र निकायहरुले छानविन गरिरहेको बताउनु भयो । उहाँले देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरु उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज देशमा भ्रष्टाचार भयानक रोगका रुपमा मौजुद छ । अनेक काण्ड चर्चामा छन्, चर्चामा ल्याइएका छन् । ति उचालिन्छन्, सेलाउँछन् । काण्डहरु उचाल्ने मुख सत्तापक्षमा हुँदा चुपचाप रहन्छन् वा सरकार सञ्चालन गरिरहँदा मौन बस्छन् । विपक्षमा पुग्दा चुलबुल गरिरहेको पाइन्छ । २० महिनासम्म देशमा कुनै काण्ड र भ्रष्टाचार थिएन जस्तो गरेर बोल्ने, मानौँ राम राज्य थियो जस्तो गर्ने मुखहरु अहिले बढी सक्रिय भएको पाइन्छ । ति काण्ड त्यतिबेला पर्दाभित्र राखिएका थिए, बोलिएका थिएनन् । स्वार्थमा सौदाबाजी गरिएका थिए की के थिए? छानबिन कहाँ भएका थिए ? म सोध्न चाहन्छु, यती, ओम्नी केके भन्नुहुन्छ, २० महिनासम्म कहाँ छानविन गरियो ? आज बलपूर्वक भन्नुस् वा अनिच्छावस भन्नुस् सरकारबाट बाहिरिनुपर्दा ति फेरि जम्जमाउन थालेका छन् । शेरा दरबार काण्ड आदि सतहमा आएका छन् । ओठे जवाफ दिनेगरी मलाई छानविन गरियोस् भनिएको छ । छानविन ओठे जवाफका आधारमा हुँदैन । छानविन गर्ने कानून र निकायहरुले गर्दछन् । कानून र निकायहरुले तिनलाई हेरिरहेका छन् ।’
उहाँले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्नेकुरा भ्रष्टाचारको ढाकछोप हो की होइन ?भन्दै प्रश्न गर्नुभयो ।










