११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ



अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मंगलबार प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख जोशीले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने भए पनि नेकपा र नेकपा (एमाले) सँग गरी २४ सांसदको समर्थन रहेको छ । ४० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका सभामुखसहित १० तथा राप्रपाका एक सांसद छन् ।

प्रदेश सरकारको नेतृत्व परिवर्तनको आधार भने केन्द्रमा भएको राजनीतिक सहमति बनेको हो । साउन ९ गते नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार यसपटक कर्णालीको नेतृत्व नेकपाको भागमा परेको हो ।

केन्द्रको सहमतिअनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिसमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । शपथसँगै शाहीले कर्णाली प्रदेश सरकारको औपचारिक नेतृत्व सम्हालेका छन् ।