१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा २०० बढी नेपाली बिद्यार्थी निकालिए



अ+ अ-

काठमाडौँ । भारतमा एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी छिन् । ओडिसा भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी हुन् ।

उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उक्त कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् ।

प्रकृतिको मृत्यु रहस्यमय रहेको र उनको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शंकास्पद भएको त्यहाँ अध्ययनरत विद्यार्थीे बताउँछन् ।

विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो सबै बिद्यार्थीहरु त्यतै व्यस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर आएको थियो ।

खबर सुनेपछि विद्यार्थीहरु उक्त होस्टलको बिल्डिङतर्फ लागे । त्यहाँ पुग्दा प्रकृतिले आत्महत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन । सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।

विद्यार्थीका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा प्रदर्शन गर्न थाले ।

नेपाली विद्यार्थीहरु प्रोटेस्टमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिएको विद्यार्थी बताउँछन् ।

अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुर्व्यवहार गर्दै निकालिएको छ । करिब २०० नेपाली विद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर विभिन्न रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको छ ।

उक्त कलेजमा अध्ययनरत सबै नेपाली विद्यार्थीमाथि यस्तै दुर्व्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवे स्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे भारतस्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको तर दूतावासबाट कुनै सहयोग नभएको विद्यार्थीहरुको आरोप छ ।