९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै

आहार व्यवस्थापनले गिद्धको सङ्ख्या बढ्दै
अ अ+ अ-

रामपुर । गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको सङ्ख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।

दुर्लभ पक्षीका रुपमा लिइने गिद्ध लोप हुन नदिन खरैनी सामुदायिक वन समूहले संरक्षण अभियान थालनी गरेपछि गिद्धको सङ्ख्या बाक्लिँदै गएको छ । पाल्पा रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी नदीको तटमा रहेको यस वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र बनाइएको छ । आहार अभावमा ६० को हाराहारीमा गिद्ध रहेको यस वन क्षेत्रमा हाल ३०० बढी गिद्ध छन् । आहार व्यवस्थापन, सुरक्षित बासस्थानको व्यवस्था गरिएपछि गिद्धको सङ्ख्या बढ्दै गएको वन समूहका अध्यक्ष छायाचन्द्र पंगेनीले जानकारी दिनुभयो ।

वन क्षेत्रभित्र मरेका पशुचौपाया यत्रतत्र फाल्न नदिने, आहार व्यवस्थापनका लागि निश्चित ठाउँको व्यवस्था, गाउँघरमा मरेका पशुको उचित व्यवस्थापन गर्दै आहारका रुपमा ल्याउने व्यवस्था गरिएको अध्यक्ष पंगेनी बताउनुुहुन्छ । “पहिला गिद्धलाई आहारा खुवाउने चलन थिएन, आफैँले खोजेर लिने गर्दथे, अहिले वन क्षेत्रमा निश्चित ठाउँ छुट्याएर आहार व्यवस्थापन गरिएको छ, आहार व्यवस्थापन हुन थालेपछि सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

रामपुर नगर गौशालासँग समन्वय गरेर १ वर्षदेखि आहारलाई व्यवस्थित गरिएको अध्यक्ष पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार गौशालामा मरेका गाईहरु वन समूहले रु एक हजार र गौशालाका तर्फबाट रु एक हजार ढुवानी खर्च व्यवस्थापन गरेर आहारका रुपमा ल्याउने कार्य भइरहको छ । रामपुर–८ का जुनसुकै स्थानमा मरेका पशु ल्याउन रु ५०० र अन्य स्थानबाट ल्याउन रु एक हजार ढुवानी शुल्क तोकिएको छ ।

वनको आयस्रोत भनेको झाँडी सरसफाइ, काठपात बिक्री नै हो । ठूलो आयस्रोत नहुँदा मरेका पशुहरु टाढा–टाढाबाट ल्याउन भने ढुवानी खर्चको समस्या भइरहेको अध्यक्ष पंगेनीले जनाउनुभयो । सम्बन्धित व्यक्तिले वन समूहसँग सम्पर्क गरेर अनुमति लिएर मात्रै मरेका गाईवस्तु ल्याउने व्यवस्था वन समूहले गरेको छ ।

आहार र बासस्थान समस्याले चितवन राष्ट्रिय निकुञ्जको कसेरामा गिद्धले बासस्थान सारेको थियो । पछिल्लो समय बासस्थान व्यवस्थित र आहार व्यवस्थापनलाई स्थानीयले चासो दिन थालेपछि पुनः फर्केर यही बासस्थान बनाएर बसेका छन् । गिद्धको आहार व्यवस्थापनका लागि करिब रु नौ लाखको लागतमा आहार केन्द्र, गिद्ध अवलोकनका लागि रुखघर निर्माण गरिएको छ । “यहाँ प्रशस्त मात्रामा गिद्धहरु भेटिन्थे, आहार कम र सिमलका रूखहरु मासिन थालेपछि हराउँदै गएका हुन्,” उहाँले भन्नुभयो, “अहिले सिमलका रूखहरु जोगाउने, आहार व्यवस्थित गरिन थालेपछि गिद्ध बढ्दै गएको छ, आहार व्यवस्थापन कमजोर हुँदा बच्चा उत्पादन दर कम हुने र जन्मेका बच्चा सफल हुने दर कम भएको पाइयो, अब बासस्थान जोगाउने, आहार परिपूर्तिमा हाम्रो ध्यान केन्द्रित छ ।”

गिद्ध संरक्षण गर्दै यहाँ जटायु पार्क पनि निर्माण गरिएको छ । यहाँ पार्क बनेपछि शनिबार र बिदाका दिन अवलोकन गर्न आउनेको चहलपहल बढ्न थालेको छ । पर्यटकलाई लक्षित गर्दै यहाँ पौवा, बुद्धको मूर्तिसहितको मन्दिर, कालीगण्डकी नदीको किनारसँग जोडिएको ८४० मिटरको पैदलमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ ।

यहाँ भएका संरचना निर्माण तथा वन संरक्षणका लागि जिल्ला वन कार्यालय पाल्पाले सघाएको छ । आहार व्यवस्थापनका लागि रामपुर–८ को वडा कार्यालयले गत वर्ष रु ७५ हजार सहयोग गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमा पर्यटन मन्त्रालयबाट विनियोजित रु १० लाख रकमबाट झाडी सरसफाइ, पैदलमार्ग, चौतारी र पार्क निर्माण गरिएको छ । यस कार्यमा रु एक लाख ११ हजारको उपभोक्ताबाट श्रमदान भएको छ । झाडी र बोटबिरुवाले भरिएको यस वनलाई २०४९ सालदेखि सामुदायिक वनमा परिणत गरिएको हो । २०५० सालमा सामुदायिक वनलाई यहाँका स्थानीयबाट समिति गठन गरेर संरक्षणको प्रयास थालियो ।

यहाँ रानी, डङ्गुर, हाँडफोर, राजगिद्ध र गोब्रे जातका गिद्ध रहेका छन् । हाँडफोर गिद्ध भने समय–समयमा मात्रै देखिन्छ । वनको करिब चार हेक्टर क्षेत्रफललाई कालीगण्डकीले टापु आकारमा घरेको छ । टापुभित्रका सिमलका रूखमा मात्रै हाल १७ वटा गिद्धका गुँड रहेको छ । गिद्धले टापुक्षेत्रलाई नै बासस्थानका रुपमा रोज्ने गर्दछ । सिमलका रूखहरु काट्न थालेपछि गिद्धहरु यहाँबाट बासस्थान छाडेर अन्यत्र जान थालेका हुन् ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले वनबाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुनसँग बाझिएको कारणले रोकिएको बताउनुभयो । छ प्रजातिको गिद्ध पाइने खैरेनी वनको प्रवद्र्धनका लागि नगरपालिका लागिपरेको नगर प्रमुख थापाले बताउनुभयो । कालीगण्डकी नदीको धार्मिक क्षेत्र उत्तरगङ्गामा अवस्थित यस वनले पर्यटन विकास मात्र नभई पक्षी संरक्षणको अभियान थालेपछि यसले यहाँको जैविक विविधता संरक्षणमा योगदान पुगेको रामपुरका अग्रज पत्रकार बासुदेव ढकाल बताउनुहुन्छ ।

पर्यटक तान्दै जटायु पार्क

गिद्ध संरक्षण र यो क्षेत्रलाई गिद्धको हबका रुपमा विकास गर्न वन समूहले जटायु पार्क निर्माण गरेको छ । करिब तीन रोपनी क्षेत्रफलमा रु १० लाखको लागतमा पार्क निर्माण गरिएको छ । पार्कभित्र गिद्धको प्रतिमा बनाइएको छ । पार्कभित्र पैदलमार्ग, चारैतिर घेराबार गरिएको छ । पर्यटकलाई आरामस्थलका लागि पार्क क्षेत्रमा पक्की चौतारी निर्माण गरिएको छ । जटायुपार्क निर्माण भएपछि आन्तरिक पर्यटक अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । गिद्धलाई पृष्ठभूूमिमा राखेर फोटो तथा भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्न थालिएसँगै पर्यटक आउने क्रम बढ्दो छ ।

यस्ता छन्, वन समूहको योजना

वनको करिब चार हेक्टर क्षेत्रफल कालीगण्डकी नदीले टापु आकारमा घेरेको छ । यो क्षेत्र पर्यटकको आकर्षण बनिरहेको छ । त्यहाँ पुग्नका लागि एउटा झोलुङ्गे पुल बनाउने, टापु वरिपरिका भागमा रहेका बोटबिरुवालाई सुरक्षित राख्ने बताइएको छ । वनभोजस्थल बनाउने, वन क्षेत्रलाई व्यवस्थित गरी आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटक भित्र्याउने योजना छ । वनको पर्यटकीय विकासका लागि दशवर्षे योजना तयार पारिएको छ । जैविक विविधता र वातावरण जोगाउने, धार्मिक, पर्यटकीय र वन जङ्गल जोगाउने अभियान उपभोक्ताको छ ।

कालीगण्डकी नदीको उत्तरवाहिनी क्षेत्रमा रहेकाले यो क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । यहाँ श्मशानघाट, झोलुङ्गेपुल, उत्तरगङ्गाघाट बनाउने योजना छ । यस वर्ष पर्यटन तथा सौन्दर्यका लागि पार्क निर्माण शीर्षकमा रु १०÷१० लाख फरक–फरक शीर्षकमा बजेट विनियोजन भएको छ । वन समूहमा १४४ उपभोक्ता आबद्ध छन् । करिब ३१ दशमलव आठ हेक्टर क्षेत्रफलमा वनभित्र खयर, सिमलका रूख, खयर प्रजातिका रूखबिरुवा, स्याल, खरायो, दुम्सी, मृग, जलहाँस, कालिज, कुखुरा जस्ता पशुपक्षी छन् ।

पक्षी संरक्षण वनको पहिचान दिने

अबको एक दशकपछि वनलाई अवलोकन गर्ने मात्र नभई पक्षी संरक्षण गर्ने, गिद्ध संरक्षण गर्ने गरी समितिले योजनाबद्ध तरिकाले काम गरिरहेको छ । यहाँ करिब १६५ प्रजातिका चराचुरुङ्गी भेटिन्छन् । यहाँबाट गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्न नदिने, पर्यटनबाट आम्दानीको स्रोत बनाउन पूर्वाधार विकासमा जोड दिइएको छ ।

कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी यहाँ घरबास बनाउने तयारी छ । कालीगण्डकीमा जलयात्रा नियमित सञ्चालन भएपछि बाह्य पर्यटक भित्रिने प्रशस्त सम्भावना छ । घरबास सञ्चालन गरेर यहाँका स्थानीयको जीवनस्तर उकास्ने खालका काममा वन समूहले गुरुयोजना बनाएको छ ।

गिद्धले सडेगलेका सिनो खाने भएकाले पनि रोगमुक्त बनाउन योगदान गर्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ । विश्वमा २३ प्रजाति र नेपाललगायत दक्षिण एसियामा नौ प्रजातिका गिद्धहरु पाइन्छन् । सिकारी चरा भए पनि गिद्ध आफैँले सिकार नगरी मरेका जनावरका मासु अर्थात् सिनो मात्र खान्छ । गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ । रासस