२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका विवादको फलतः हत्याको रूप

मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका विवादको फलतः हत्याको रूप
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आफ्नै काकी पर्ने गीतासँग निर्मलको अवैध सम्बन्ध रहेको खुलेको छ । निर्मल र गीताबीच आर्थिक लेनदेनसमेत रहेको पाइएको छ । श्रीमान्सँग सम्बन्ध राम्रो नभएपछि गीता र निर्मलबीच हिमचिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ । केसी परिवारले गीता हराएको भन्दै गत बुधबार महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले खोजीका क्रममा उनको शव शुक्रबार साँझ गोदावरी नगरपालिका–१० लेलेको जंगलमा फेला पारेको थियो । हत्या अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गीताको हत्याको कारण लेनदेनको विषयपछि उब्जिएको विवाद हुन सक्ने देखिएको छ । सो क्रममा विवाद उब्जिएपछि घाँटी थिचेर गीताको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो । एकातिर ज्यान, अर्कातिर टाउको र खुट्टा हुने गरी गरिएको सो वीभत्स हत्यापछि शवका टुक्रा सुटकेस र जेब्रा झोलामा हालेर फ्याँकिएको थियो । हत्यामा संलग्न व्यक्ति शव फालिएको स्थान नजिकै बस्थिन् । प्रहरीको बलियो अनुसन्धानले हत्याको दोस्रो दिनमै हत्यारा पक्राउ गर्न सफल भयो । हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनबाट पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको पुष्टि भएको थियो । महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।

‘मानिस अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने चाहन्छ, सम्बन्धका कुरा बाहिर जाने डरले हत्याका घटना भएको पाइएको छ । सामान्य विवादमा तत्कालको रिस र आवेगलाई कन्ट्रोल गर्न नसक्दा पनि हत्याका घटना भएका छन्,’ महाशाखाका प्रमुख एसएसपी थापाले भने । गत बिहीबार राति धादिङमा आवेगकै कारण ६५ वर्षीय सोमबहादुर गुरुङको क्रूरतापूर्वक हत्या भएको थियो । धादिङको निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले खुर्पाले घाँटी रेटी गुरुङको क्रूरतापूर्वक हत्या गरेका थिए । परियार हत्यापछि बिहीबार राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङमा गुरुङको टाउको झोलामा हालेर आत्मसमर्पण गर्न पुगेका थिए । उनले आफूले मान्छे मारेर आएको भन्दै ड्युटीमा रहेका प्रहरीलाई झोलाबाट टाउको निकालेर देखाइदिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखसमेत रहेका एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादका कारण हत्या भएको देखिएको छ । यसैगरी, गत मंगलबार झापाको शिवसताक्षी नगरपालिकामा समेत लेनदेनकै कारण २८ वर्षीय गोमानसिंह मगरको वीभत्स तरिकाबाट हत्या भएको थियो । स्थानीय मनकुमार लिम्बुले मगरलाई बोलाएर शिवसताक्षी बजारमा भेटेपछि दुवै जना रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर गएको र सोही क्रममा लेनदेनको विषयमा विवाद हुँदा छुराले घाँटी रेटी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरू दुवै जना बहराइनबाट केही समयअघि नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘विदेशमा दुवै जना सँगै बसेर आएका रहेछन् । उनीहरूबीच लेनदेनको सम्बन्धका कारण छुराले घाँटी रेटेर हत्या गरेको देखियो,’ घटनाको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकारीले राजधानीसँग भने ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार प्रहरीले उनीहरूबीच फोन संवाद भएको दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले कागजी रूपमा हुने गरेका तमसुक तथा लेनदेनलाई नहेर्दा समेत पछिल्लो समय हत्याका घटना बढ्न थालेका छन् । प्रहरीका एक उच्च अधिकारीले प्रहरीलाई लेनदेनको विषय हेर्ने अधिकार नहुँदा समेत हत्याको घटना बढेको बताए । ‘प्रहरीलाई कागजी तमसुक र लेनदेनका घटना हेर्ने अधिकार छैन, चेक बाउन्सका घटना मात्र प्रहरीले हेर्ने हुँदा लेनदेनका घटनाबाट पनि हत्या बढेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने । लेनदेनको विषय अदालती प्रक्रियामा जानुपर्ने र आफूले दिएको रकम सहजै फिर्ता नहुने अवस्थापछि माानिसले आवेगमा हत्याको निर्णयसम्म गर्ने गरेको ती प्रहरी अधिकारीले जानकारी दिएका हुन् । यसैगरी, सामान्य विवादका कारण समेत परिवारभित्रकै व्यक्तिले परिवारकै व्यक्तिको हत्या गर्ने क्रमसमेत पछिल्लो समय बढेको छ ।

केही दिनअघि बर्दिया बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विकले राजधानीको अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । विकले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती पार्वती खड्कालाई छुरा प्रहार गरेका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको हो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले विकलाई सोमबार बेलुकी पक्राउ गरेको हो । यसैगरी, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारीले गत बुधबार आफ्नै बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई सामान्य घरायसी विवादका कारण बन्चरोले हानेर हत्या गरे ।

काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीले टाउको र घाँटीमा बन्चरो प्रहार गरी बुहारीको हत्या गरेका हुन् । अनुसन्धानमा घरायसी विवादका कारण सुदर्शनले बुहारीलाई बन्चरो प्रहार गरेको खुलेको एसपी पौडेलले जनाएका छन् । राजधानी दैनिक