२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड



अ+ अ-

दमौली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको लगानी गुणात्मक रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयको आज आयोजित ५४औं वार्षिकोत्सव कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रमा लगानी कम रहेकाले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘हामी सरकारमा हुँदादेखि नै शिक्षा क्षेत्रमा लगानी अपूरो भयो भनेर बहस सुरु गरेका थियौँ। शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ। सामाजिक, आर्थिक रूपान्तरण, विकास र समृद्धिको कार्यभार पूरा गर्नेगरी शिक्षा प्रक्रियालाई पूरा गर्नुपर्छ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पाठ्यक्रममा सुधार गर्न शिक्षकलाई तालिम दिनुपर्नेमा जोड दिए। उनले भन्नुभयो, ‘शिक्षकलाई सम्मानित पेसाका रूपमा स्थापित गर्नुपर्छ। अन्यत्र काम नपाएर शिक्षकमा आएको हो भन्ने अवस्थाको अन्त्य गरिनुपर्छ। सम्मानसाथ शिक्षक हुने वातावरण सृजना गर्नुपर्नेछ।’

श्रेष्ठले सामुदायिक विद्यालय निजी विद्यालयभन्दा गुणस्तरीय भए पनि निजी विद्यालयतर्फ आमनागरिकको आकर्षण बढेको वर्तमान अवस्थामा लगानी बढाएर सीप र रोजगारीसँग जोड्ने गरी शिक्षा दिनु आजको आवश्यकता भएको बताए। उनले भने, ‘सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा लैजाने वातावरण कसरी उत्पन्न भयो, त्यसतर्फ छलफल गरी सुधारका विकल्प खोज्नुपर्छ।’

उनले सामुदायिक विद्यालयको स्तर गुणात्मक तरिकाले वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै शिक्षामा समान पहुँचको वातावरण सृजना गर्नुपर्ने उल्लेख गरे। सङ्घीय, प्रदेश र स्थानीय तहले शिक्षा क्षेत्रको समस्या पहिचान गरी नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको भन्दै उनले थपे, ‘शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिले शिक्षण संस्थालाई गुणस्तरीय शिक्षाको थलो बनाउन गम्भीर रूपमा नयाँ योजना बनाउनुपर्छ।’

शिक्षा जीविकोपार्जनका लागि मात्र नभई शिक्षा जीवनका लागि भएको उल्लेख गर्दै श्रेष्ठले अहिलेको शिक्षा प्रणाली मानिसलाई मेसिन बनाउने माध्यम मात्र भयो कि त्यसतर्फ सोच्नुपर्ने बेला आएको चर्चा गरे।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले पहल गरिरहेको जानकारी दिए। उनले भने, ‘मित्रता माविको नतिजा जिल्लाकै उत्कृष्ट छ, अन्य विद्यालयको नतिजा पनि उत्कृष्ट बनाउने गरी हामीले गर्न सक्ने सबै सहयोग गर्न तयार छौँ।’रासस