२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

सर्वोच्च अदालतः खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने

सर्वोच्च अदालतः खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने
अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहुर्याउने लज्जाको विषय भनेको छ । खेल मिलेमतो कसुरबाट भने अदालतले पाँच खेलाडी र एक प्राविधिक विशेषज्ञलाई असार २ गते नै सफाइ दिएको थियो । कानुन अभावमा फौजदारी कसुर ठहर हुन नसक्ने भन्दै अदालतले सफाइ दिएको थियो ।

अदालतले सार्वजनिक गरेको पूर्णपाठ अनुसार राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ ले खेल मिलेमतोलाई राज्य विप्लवमा नसमेट्ने व्याख्या गरेको छ । राज्य विरुद्धको कसुर जन्मकैद सम्मको सजाय भए पनि पछिल्लो समय विधायिकाले तय गरेको खेल मिलेमतोको परिभाषाले जन्मकैदमा नसमेटेको पनि अदालतले स्मरण गराएको छ । २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी संहितामा खेल मिलेमतोमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिवानाको व्यवस्था गरेको छ । खेलाडीलाई मुद्दा भने कानुन अभावमा राज्य विरुद्धको अपराधमा चलाइएको थियो ।
कानुन अभावमा नै अदालतले खेलाडीलाई सफाइ दिएको थियो । मिलेमतोलाई भने अदालतले राष्ट्रिय लज्जा मानेको छ । व्याख्यामा भनिएको छ, ‘यहाँ रकम लेनदेनको जुन कुरा उठेको छ, रकम ट्रान्सफर भएको र बुझेको जुन प्रमाण जुटाइएको छ, जसरी केही खेलाडीले रकम बुझेको कुरा अदालतमा समेत गरेका छन् । मिसिलमा जुन कुरा उठाइएको छ सो राष्ट्रिय लज्जाको विषय हो र यस्तो कार्यबाट राष्ट्रको शिर निहुरिन पुग्ने हुँदा यो सर्वथा अनुचित हो । यसमा कुनै द्विविधा छैन । ’

सन् २००७ देखि २०१४ सम्म विभिन्न खेलमा भएको मिलेमतोको विषयलाई लिएर मुद्दा दायर भएको थियो । नेपालको प्रतिनिधित्व गरेका विभिन्न खेलमा विदेशी एजेन्टसँग मिलेर राष्ट्रहित विपरीत कार्य गरेको आरोप खेलाडीमाथि थियो । मुद्दा दायर गरेको समयमा खेल मिलेमतोको स्पष्ट कानुन नभएको भन्दै विशेष र सर्वोच्च अदालत दुवैले अभियोग अस्वीकार गरेका छन् । सर्वोच्चको फैसलामा भनिएको छ, ‘तथ्यगत रूपमा अभियोग पत्र र पुनरावेदन जिकिरमा उठाइएका कुरा गम्भीर छन् भन्ने कुरा स्वीकारेको अवस्थामा पनि यसो गर्नु राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३(१) अन्तर्गतको कसुर हुन्छ र सो दफा अन्तर्गत प्रतिवादीलाई सजाय गर्न मिल्छ भन्ने निष्कर्ष कतै निस्कँदैन र यस्तो जिकिरलाई स्वीकार गर्न सकिने
अवस्था छैन । ’

अदालतले पश्चात्दर्शी कानुन बनाएर कारबाही गर्नु फौजदारी न्याय शास्त्रको विपरीत हुने पनि फैसलामा उल्लेख गरेको छ । अपवादका रूपमा मानव अधिकार उल्लङ्घनका विषयमा मात्र पश्चात्दर्शी कानुन बन्न सक्ने अदालतको व्याख्या छ । अदालतले तत्कालीन समयमा म्याच फिक्सिङबारे कुनै पनि परिकल्पना नभएको र हालको परिकल्पना पनि जन्मकैद सम्मको नभएको फैसलामा उल्लेख छ । गोरखापत्र दैनिक