१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती
अ अ+ अ-

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गर्नुभएको छ । उहाँ पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । दिउँसोको समय नागरिकको उपचारमा खटिने उहाँ फुर्सदको समय बारीमा काम गर्नुहुन्छ ।

“सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु”, पुनले भन्नुभयो । ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी सम्भावना खोज्दै आउनु भएको छ ।

आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उहाँको भनाइछ । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताउनुभयो । साथै ५० बढी बाख्रा पालन गरेको बताउँदै उहाँले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताउनुभयो ।

“एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्”, पुनले भन्नुभयो । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाउनुभएका उहाँ पाँच वर्षदेखि ढोरपाटन–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

फुर्सदको समयमा बारीमा काम गर्ने उहाँले कृषि फार्ममा हालसम्म रु डेढ करोड बढी लगानी गरेको जानकारी दिनुभयो । उहाँलाई विदेशबाट फर्किनुभएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहनुभएको छ ।

सुरुमा रु १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताउनुभयो । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर रु सात लाख आम्दानी भएको जनाउँदै उहाँले वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।

“अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नुभएको छ, उहाँहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु”, पुनले भन्नुभयो, “लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।”

पुनले केही वर्ष अघि रु ६० लाखको जग्गा किनेर फलफूखेती विस्तार गरेको जानकारी दिनुभयो । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट रु एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट रु एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उहाँले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएका उहाँको भनाइ छ ।

आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोख्नुभयो । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिनुभयो । रासस