
काठमाडौँ । पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१२ स्थित पाटन बस्ने ४ वर्षीय जिरे भन्ने पल चेपाङलाई अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको हो ।
बिहीबार चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । उनलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपीले सो गेस्टहाउसमा बालकलाई बन्धक बनाएर राखेको पाईएको छ ।
पक्राउ परेका भियतनामी नागरिकले बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।
बालकलाई पाटन अस्पतालमा उपचार गराई परिवारको जिम्मा लगाइएको छ ।