१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद सलाहको ह्याट्रिकमा शान्दार जित



अ+ अ-

लन्डन । मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई शनिबार ४–३ ले हराएको छ । दोस्रो डिभिजन च्याम्पियनसिप विजेता लिड्सको प्रिमियर लिग विजेता लिभरपुलविरुद्धको खेल बहुप्रतिक्षित थियो र यो सबैको अपेक्षा अनुसार रोमाञ्चक र सनसनीपूर्ण पनि रह्यो । मार्सेलो बिएल्साको लिड्सले १६ वर्षपछि पहिलो पल्ट माथिल्लो डिभिजनमा पुनरागमन गरेको थियो ।

खेलको सुरुआती ३३ मिनेटमा पाँच गोल भएका थिए ।सलाहले पेनाल्टीबाट पहिलो गोल गरेपछि लिड्सका लागि ज्याक ह्यारिसनले बराबरी गोल फर्काए । लगतै भर्जिल भान डाइकले गोल गरे र उनले दिएको पेनाल्टीमा प्याट्रिक बामफोर्डले फेरि लिड्सका लागि बराबरी गरे । सलाहको दोस्रो व्यक्तिगत गोलपछि लिड्सबाट फेरि म्याथुज क्लिचले तेस्रो पल्ट खेल बराबरीमा ल्याए । यस्तोमा सलाहले ८८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र डिफेन्डिङ च्याम्पियनलाई विजयी सुरुआत दिए ।

शनिबार रातिको अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई २–० ले हरायो । यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो ।