
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अभियोजनमा त्रुटि गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन थालिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई महान्याधिवक्ताको कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको हो ।
लुइँटेलमाथि साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछानेविरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोप छ ।
नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरी लुइँटेलमाथि छानबिन सुरु गरिएको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए ।
लुइँटेललाई महान्याधिवक्ताको कार्यालय तानिएसँगै चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।