
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् । राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने बताईएको छ ।
उनीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेललाईलाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । नेपाल आएपश्चात दुवैजना लैनचौरस्थित बेलायती राजदुतास जाने र दिउँसो सवा ४ बजे शीतल निवास प्रस्थान गर्ने तालिका रहेको स्रोतले जनायो ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।
काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन् ।
राजकुमार र राजकुमारी आइतबार स्वदेश फर्किने छन् । राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन् । सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन् ।