१० श्रावण २०८३, आईतवार
,
Latest
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन



अ+ अ-

काठमाडौँ: सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री स्तर काे निर्णयबाट उक्त वार्ता टोली गठन गरिएको हो । गृह मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गर्नुभएको स्पष्ट पारेको छ ।

सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।