६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन० का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउनुहुन्छ । “ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “चराको बासस्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको छ ।”

उहाँका अनुसार बेलौरी नगरपालिाका–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ । चराको सङ्ख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ ।  बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउनुहुन्छ ।

बिषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बिसिएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ ।

स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउनुहुन्छ । “सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ”, उहाँले भन्नुभयो, “ताजा पानी आपूर्ति गर्ने कार्य सँगै सीमसार क्षेत्रले पानी भण्डारण गर्दछन, जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण छ ।”

एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराको लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ । विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन् ।

सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्छ । सीमसार क्षेत्रको महत्व नबुझदा अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रवासी चराचुरुङ्गी र अन्य जनावरहरु यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन ।

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ । बिसिएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपंछी संरक्षणका लागि योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उहाँको भनाइ छ ।

“पर्याप्त खाना, सुरक्षित प्रजननस्थल र राम्रो मौसमको खोजीमा चराहरु टाढा टाढाबाट बर्सेनि ताल तलैया र सीमसार क्षेत्रमा आइपुग्छन्”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “तालको शोभा बढाउने चरा जोगाउनका लागि तालमा माछा मार्ने कार्य रोकिनुपर्छ, बिषादी हालेर चरा मार्ने कार्यलाई निरुत्साहित गरिनुपर्छ ।”

कञ्चनपुरमा चार सय ८० प्रजातिका चराहरु पाइन्छन् । जसमा संरक्षितको सूचिमा रहेका नौ प्रजातिमध्ये सेतो गरुड, कालो गरुड, खरमजुर, सानो खरमजुर सारस, राजधनेशलगायतका चराहरु पनि यहाँ पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संरक्षित पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको रहेको कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

सोही ऐनअन्तर्गत संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १०वर्षसम्म कैदको व्यवस्था  रहेको छ । रासस