६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः सरकार उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा, विकल्पका रुपमा यस्तो कदम चाल्दै



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ । छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिनुभयो । परिषद्ले छनोट गरेका युवालाई स्वास्थ्य मन्त्रालयले तालिम दिने बताउँदै उनले भने– ‘तीन दिनभित्र स्वयंसेवक छनोट गर्नेछांै, ७ गतेबाट तालिम दिएर ९ गतेबाट खटाउने छौं ।’ युवा परिचालन गर्नुअघिको स्वास्थ्य मापदण्डबारे मन्त्रालयले, युवा परिचालन कार्यविधि परिषद्ले र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउने ढुंगेलको भनाइ थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्की, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम, कार्यकारी उपाध्यक्ष ढुंगेल, उपत्यकाका स्थानीय तहका कोभिड सम्पर्क अधिकृत र परिषद्ले बोलाएका स्वास्थ्यविज्ञको सहभागिता रहेको थियो ।

मन्त्रालयले पहलो चरणमा नमुनाका रुपमा सय र त्यसपछि थप संख्यामा युवा परिचालन गर्ने तयारी गरेको छ । ढुंगेलले सरकारको आग्रहअनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र लकडाउनको विकल्पका रुपमा स्वयंसेवक परिचालनलाई उच्च प्राथमिकताका रुपमा लिएकोले परिषद्ले युवा स्वयंसेवक तयारी गरेको बताए । यो मोडल सफल भएमा सबै स्थानीय तहका युवालाई तालिम दिएर स्वयंसेवकको रुपमा परिचालन गर्ने योजना रहेको छ । पहिलो चरणमा यही असोज ९ गतेदेखि कातिक ७ अर्थात् फूलपातीको दिनसम्म स्वयंसेवक परिचालन हुनेछन् । ती स्वयंसेवकले राजधानीको भीडभाड हुने क्षेत्रमा काम गर्नेछन् ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख हरि कुँवरले युवा स्वयंसेवक परिचालन गर्ने विषयमा मन्त्रालय र सबै स्थानीय निकाय एकजुट भएको जानकारी दिए । राजधानीका नयाँ बसपार्क, असन, इन्द्रचोक, बल्खु, कोटेश्वर, कालिमाटी तथा फलफूल बजार, रत्नपार्क, न्युरोड, ललितपुरको लगनखेल, विभिन्न सपिङ मल, खसीबजार, खाद्य संस्थान, भक्तपुर, मध्यपुर, थानकोट, कलंकीलगायत भीडभाड हुने सबै क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा परिचालित युवालाई राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सहुलियत दरमा पन्जा, सेनिटाइजर, मास्क उपलब्ध गराउने भएको छ । विभिन्न दातासँग कुराकानी गरी ती युवालाई खाजा खर्चबापत १० हजार रुपियाँ दिने व्यवस्था गरेको ढुंगेलले बताए ।

तालिम प्राप्त युवा स्वयंसेवकले एक महिनासम्म एकै स्थानमा काम गर्नुपर्नेछ । बिहानदेखि बेलुकासम्म भीडभाड नियन्त्रण गर्न खटिने युवा स्वयंसेवकले मास्क र सेनिटाइजरको सही प्रयोग गर्न, भौतिक दूरी कायम गर्न सघाउनेछन् । उनीहरुले भीड नियन्त्रण गर्न सम्बन्धित निकायलाई समेत अनुरोध गर्नेछन् । उपत्यकाबाहिर ठूला शहरमा पनि यो व्यवस्था लागू गर्ने तयारी गरिरहेको ढुंगेलले जानकारी दिनुभयो । मन्त्रालयले यो व्यवस्था लामो समयसम्म लागू गर्न परिषद्लाई आग्रह गरिसकेको छ । फेरि लकडाउन गरे जनता सडकमा उत्रेर सरकारविरुद्ध प्रतिवाद गर्न सक्ने आकलन गर्दै सरकारले अब लकडाउन नगरी युवा परिचालन गर्दै अघि बढ्ने मोडल शुरुआत गर्न लागेको हो । नेपाल समाचारपत्र दैनिक