६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस १४औं महाधिवेशन: आफू अनुकूलको समूह बनाउन सक्रियता बढाउँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् । सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।

सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् । यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन् । उनले आफू संयोजक रहेको पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत भइरहेका अन्तक्र्रियामार्फत आफूलाई सक्रिय देखाइरहेका छन् । उनी संयोजक रहेको प्रतिष्ठानले आइतबार हुने भर्चुअल कार्यक्रममा पूर्वराष्टपति डा. रामवरण यादवलाई समेत सहभागी गराउँदै छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन् । सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ । सो समूहबाट महामन्त्री डा.शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन् । यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले समेत भर्चुअल कार्यक्रममार्फत नै समूहलाई सक्रिय भएको देखाउँदै आइरहेको छ । सो समूहले समेत उपसभापति निधिसहित नेताहरू डा. शेखर कोइराला, चित्रलेखा यादव, रमेश लेखक, प्रदीप गिरीलगायतलाई आफू पक्षीय भर्चुअल कार्यक्रममार्फत सहभागी गराउँदै आइरहेको छ ।

यसैगरी अर्का पूर्वमहामन्त्री प्रकाशमा सिंहले समेत सक्रियता बढाउँदै आइरहेका छन् । उनले समेत विभिन्न कार्यक्रममा आफू सभपतिका लागि तयारी गरिरहेको सन्देश दिँदै आएका छन् । कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संरचनालाई बदल्न विधान बनाए पनि महाधिवेशनअघि सम्पन्न गर्नुपर्ने अन्तरिम संरचना गठनका लागि सुरु गरिएको समायोजनको काम भने सकेको छैन । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले महाधिवेशन मितिबाहेक पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा कांग्रेसले पटक पटक संशोधन गरिसकेको छ । कांग्रेसले २०७६ साउनमा नै पहिलो पटक समायोजन सक्ने भनेको थियो । त्यसपछि सोही सालको मंसिर हँुदै फागुनमा नै संरचना समायोजनको काम सक्ने बताएको थियो । पटक पटकको मिति त्यसै टारेको कांग्रेसले फेरि गएको १५ असारसम्म समायोजन सक्ने भन्दै मिति नै तय गरेको थियो ।

यसैगरी, पछिल्लो पटक समेत गत १० साउनसम्ममा सबै तहका संरचनाको समायोजन सक्ने भन्दै केन्द्रीय समितिबाट मिति नै तय गरेको थियो । पछिल्लो पटक तोकिएको मितिमा लगभग दुई महिना नाघ्नै लाग्दा पनि कांग्रेसले समायोजनको काम सकेको छैन । कांग्रेस केन्द्रले दाबी गरेकाबाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । जसअनुसार प्रदेश २ का आठ जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, बारा, पर्सा र सप्तरी तथा बाग्मती प्रदेशका काभ्रे र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशको मुस्ताङमा समायोजनको काम सकिएको छैन ।

कांग्रेसले पछिल्लो पटक समायोजनको काम सकेर क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्रै सक्न, भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको थियो । तोकिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको मिति गुज्रिसकेको छ भने अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न तोकिएको मितिसमेत सकिएको छ । कांग्रेसले महाधिवेशनको प्रक्रियाबाट ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ । राजधानी दैनिक