काठमाडौं । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन ।
कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन । सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो । ४ महिना लामो लक डाउन खुलेपनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । असोज ५ गतेबाट हवाई सेवा सुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताउनुभयो । तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उहाँले आपत्ति जनाउनुभयो । त्यसले पर्यटन क्षत्रेलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उहाँले बताउनुभयो ।
अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो ।
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना सँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लक डाउन अघिकै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनि मध्ये ८ वटाले आजबाट सेवा सुरु गरेका छन् ।











