१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अ अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुन: पेरिस सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको छ । उहाँको उक्त घोषणापछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकालले पेरिस सम्झौताबाट अमेरिका बाहिरियो भने त्यो अन्य मुलुकका लागि राम्रो नहुने बताउनुहुन्छ । “अमेरिका जस्तो धनी र शक्तिशाली मुलुक बाहिरिनु राम्रो होइन, यसको असर अन्तर्राष्ट्रिय समुदायमा पनि पर्छ”, उहाँले भन्नुभयो, “अमेरिका पेरिस सम्झौताबाट बाहिरिए पनि हामी जलवायु परिवर्तनका मुद्दा छाड्दैन, हामीले दुईपक्षीय सम्बन्धका आधारमा सहयोग ल्याउन सक्नुपर्छ ।”

जलवायुविद् राजु पण्डित क्षेत्रीले अमेरिका जस्तो मुलुक नै जलवायुजन्य सङ्कट न्यूनीकरणका लागि भएको पेरिस सम्झौताबाट हट्दा अन्य शक्तिशाली मुलुकहरु पनि कार्यान्वयनबाट पछि हट्न सक्ने बताउनुहुन्छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) द्वारा प्रकाशित सन् २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको र वर्ष २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा उल्लेख गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जलवायुजन्य विपद् बढ्दै जाने जोखिम रहेको समयमा सम्झौता कार्यान्वयनबाट शक्तिशाली मुलुक नै पछि हट्दा त्यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपर्छ ।”

उनले अमेरिका विश्वमा दोस्रो हरितगृह ग्यास उत्सर्जन गराउने मुलुकमा पर्ने उल्लेख गर्दै उहाँले जलवायुजन्य सङ्कटसँग लड्नका लागि अमेरिकाकै जिम्मेवारी बढी हुने बताउनुभयो । पण्डितले भन्नुभयो, “अमेरिका पेरिस सम्झौता कार्यान्वयन गर्ने नैतिक दायित्वबाट पछि हट्दा जलवायु सङ्कट समाधानमा असर त पर्छ नै तर अन्य मुलुकहरु त्यसैगरी हट्दै जाने हो भने समस्या अझ थपिन्छ, अन्य मुलुक सम्झौता कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ ।”

एनसिक्यूजी कार्यान्वयनमा समस्या

गत कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।

कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्यूजी) मा भएको सहमतिलाई उपलब्धिका रुपमा हेरिएको थियो । विकसित देशहरुले विकासोन्मुख देशलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धिको रुपमा विश्लेषण गरिएको थियो । यद्यपि विकासोन्मुख राष्ट्रहरुको माग भने वार्षिक एक दशमलव तीन ट्रिलियन डलर थियो ।

मागअनुसार निकै कम जलवायु वित्त उपलब्ध गराउने धनी मुलुकको प्रतिबद्धतामा अतिकम विकसित मुलुकको समूह एलडिसीले कोपको नतिजा उपलब्धिमूलक नभएको भन्दै असन्तुष्टि जनाएको थियो । कोप–२९ मा प्रतिबद्धता जनाइएअनुसारको तीन सय बिलियन अमेरिकी डलरसमेत उपलब्ध नभई एनसिक्युजी कार्यान्वयनमा चुनौती देखिने आशंका रहेका जलवायु तथा विपद् व्यवस्थापन विद् डा धर्मराज उप्रेतिको भनाइ छ ।

“बढ्दो जलवायुको सङ्कटअनुसार तीन सय विलियन डलर अमेरिकी डलर जलवायु वित्त अपुग नै हो । त्यसमाथि धनी र शक्तिशाली मुलुक नै दायित्वबाट पछि हट्दा सो रकम समेत उपलब्ध नहुने हो कि डर छ”, उहाँले भन्नुभयो, “यसका साथै हरित जलवायु कोष, अनुकूलन कोष, हानी नोक्सानी कोष जस्ता बहुपक्षीय कोषहरु छन्, यी कोषको वित्तीय आकार नबढ्ने सम्भावना उत्तिकै छ ।” जलवायु परिवर्तनका कारण गरिब देशमा बढ्दो बाढीपहिरो, आँधी र खडेरीललगायतका प्राकृतिक विपद् सम्बोधन गर्न ‘नोक्सानी र क्षति कोष’ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्बन उत्सर्जन कटौतीको लक्ष्य कार्यान्वयनमा चुनौती 

पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौता कार्यान्वयन नभए विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा चुनौती थपिने जलवायु व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्माको टिप्पणी छ ।

“स्वच्छ ऊर्जा प्रयोगमा पनि अमेरिका अगाडि छ, भूराजनीतिक परिभेषमा पेरिस सम्झौता कार्यान्वयन व्यावहारिक रुपमा कसरी अगाडि जान्छ हेर्नुपर्छ, यद्यपि यसबाट अमेरिकापछि हट्छ भन्ने मलाई लागेको छैन”, उहाँले भन्नुभयो ।

सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धिदर एक दशमलव चार डिग्री सेल्सियस छ । त्यसमध्ये एक दशमलव तीन डिग्री सेल्सियस मानवकै कारण वृद्धि भएको डब्ल्युएमओको अध्ययनले देखाएको छ ।

समुद्री तापक्रममा उल्लेखनीय वृद्धि, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको डब्ल्युएमओको भनाइ छ । एल निनो प्रभावले तापक्रम वृद्धि थप बढाएको उसको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सतह सन् २०१४ देखि २०२३ सम्म वार्षिक चार दशमलव ७७ मिमीले बढेको छ । सन् २०२३ मा ग्लेसियरबाट एक दशमलव दुई मिटर पानी बराबरको बरफ गुमाएको र यो सन् १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना भएको सङ्गठनको भनाइ छ ।

सङ्गठनले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वव्यापी रुपमा जलवायुको बढ्दो सङ्कटबारे चिन्ता व्यक्त गर्नुभएको थियो । युएन तथा गुटेरेसले पछिल्लो समय जलवायुको सङ्कट बढिरहेको र यसले भविष्यमा भयावह अवस्था सिर्जना गर्न सक्ने भन्दै पछिल्लो समय जलवायुजन्य सङ्कटबारे चिन्ता जनाएका छन् ।

हिमाल सुरक्षामा चुनौती

तापमान वृद्धि दरलाई रोक्ने पेरिस सम्झौता कार्यान्वयन नभए नेपालका पर्वतीय क्षेत्रलाई अझै बढी असर गर्ने र हिमालबाट हिउँ पग्लने क्रम अझै बढ्न सक्ने सम्भावना रहने जलवायु अभियन्ता गीता पाण्डेको बुझाइ छ । “विश्वमा बढ्दै गएको तापमान वृद्धिसँगै हिमालबाट हिउँ पग्लिएर कालापत्थरमा परिणत हुने खतरा छ, सम्झौता कार्यान्वयनबाट अमेरिकापछि हट्दा तापमान वृद्धिदरलाई सीमित राख्ने लक्ष्य पूरा नहुन सक्छ । यसको मार नेपाल जस्ता मुलुकले भोग्नुपर्ने उहाँको भनाइ छ ।

एसियाली विकास बैंक (एडीबी) को एक अनुसन्धानले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई सन् २०७० सम्ममा १७ प्रतिशतले घटाउन सक्ने देखाएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणाभन्दा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिम नदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।

जलवायु अभियन्ता अभिशेक श्रेष्ठले विश्वको तापमान अभूतपूर्व रुपमा नयाँ स्तरमा पुगिरहेको वैज्ञानिकले दिइरहेको चेतावनीलाई बेवास्ता गर्दै अमेरिका उक्त सम्झौताबाट बाहिरियो भने उसको असर विश्वव्यापी हुने बताउनुहुन्छ । “पेरिस सम्झौताबाट अमेरिका बाहिरिनु कसैका लागि राम्रो होइन, विश्वको सबैभन्दा ठूलो कार्बन उत्सर्जक र प्रमुख जीवाश्म इन्धन उत्पादक अमेरिकाले कार्यान्वयनको दायित्व लिनुपर्छ”, उहाँले भन्नुभयो ।

आन्तरिक गृहकार्यमा जोडबल आवश्यक

पेरिस सम्झौता कार्यान्वयनबाट अमेरिकापछि हटे नेपालले आन्तरिक क्षमता बढाउँदै जानुपर्ने विज्ञहरुको जोड छ । जलवायु अभियन्ता राजन थापा नेपाल जस्ता मुलुकले आर्थिक र प्राविधिक क्षमता अभिवृद्धि गरी अघि बढ्न सक्ने देखिएको बताउनुहुन्छ ।

“अमेरिका पेरिस सम्झौताबाट निस्कन सक्छ भन्ने पहिले आँकलन गरिएको थियो, यसबाट जलवायु वित्त सहयोगका लागि एउटा मात्रै मुलुकसँग भर पर्नुहुँदैन भन्ने सिकाएको छ”, उहाँले भन्नुभयो । अन्य मलुकसँग सहकार्य बढाएर जलवायु वित्त सहयोग ल्याउन सकिने उहाँको भनाइ छ ।

के हो पेरिस सम्झौता ?

सन् २०१५ मा जलवायु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २१औँ शिखर सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । विश्वका एक सय ९० भन्दा बढी देश सम्मेलनमा सहभागी थिए । उपस्थित पक्ष मुलुकले विश्वको तापमान वृद्धिले जलवायु सङ्कट निम्ताइरहेको र कालान्तरमा पृथ्वीको अस्तित्व नास हुनसक्ने खतरा रहेको निष्कर्षसहित विश्व तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने महत्वपूर्ण एजेण्डामा सम्झौता भएको थियो । सोही सम्झौतालाई ‘पेरिस जलवायु सम्झौता’ का नामले चिनिन्छ । यो लक्ष्य निर्धारणका लागि कार्बन उत्सर्जन कटौतीसम्बन्धी नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।

पेरिस सम्झौतालाई एक ऐतिहासिक कदमको रुपमा लिने गरिएको छ । यो सम्झौता नैतिक बाध्यकारी रहे कानुनी रुपमा बाध्यकारी भने छैन । जलवायु प्रदूषण घटाउन कानुनी रूपमा बाध्य भएका कारण कुनै पक्ष मुलुक सम्झौताबाट बाहिरिन नपाउने प्रावधान छैन ।

पेरिस सम्झौतामा प्रमुख वार्ताका अगुवाहरू नै अमेरिकन थिए । उक्त सम्झौता सन् २०१५ मा बाराक ओबामा प्रशासनको समयमा भएको थियो । राष्ट्रपछि ट्रम्पले सन् २०१७ मा अमेरिका पेरिस सम्झौताबाट बाहिरिने घोषणा गर्नुभएको थियो । तर जो बाइडेनले चुनाव जितेपछि बाहिरिने घोषणा कार्यान्वयन भएको थिएन । जो बाइडेनले कार्यभारको जिम्मा दिएकै पहिलो दिन पेरिस सम्झौतामा पुन:सामेल हुने घोषणा गर्नुभएको थियो । अमेरिकाले गत डिसेम्बरमा सन् २०३५ सम्म सन् २००५ स्तरको तुलनामा ६६ प्रतिशतसम्म जलवायु प्रदूषण कम गर्ने लक्ष्य लिएको थियो ।

प्रगति ढकाल/रासस