जनकपुरधाम। विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि र नेतृत्व सुदृढीकरण गर्ने उद्देश्यका साथ जनकपुरधाममा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय शिखर सम्मेलन आयोजना हुने भएको छ ।
मंसिर ५ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सातै प्रदेशका एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद् र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।
सम्मेलनको मुख्य उद्देश्य विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वको सबलीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्यको नयाँ आयाम स्थापित गर्नु रहेको छ ।
विद्यालय शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच संवादको खाँचो रहेको आयोजकले जनाएको छ ।
संघका केन्द्रिय अध्यक्ष सुदाम गौतमकाअनुसार यो सम्मेलनले विद्यालय शिक्षामा सुधारका लागि साझा प्रतिवद्धता र आगामी कार्यदिशा तय गर्नेछ । राजनीतिक स्वार्थबाट अलग रही सामुदायिक हितलाई प्राथमिकता दिने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न प्राज्ञिक र पेशागत बहसहरू हुनेछन् ।
दुई दिनसम्म चल्ने सम्मेलनको अन्त्यमा शैक्षिक सुधार, समतामूलक पहुँच र अधिकार कार्यान्वयनका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने तयारी छ । –न्युज एजेन्सी नेपाल








