७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

विपद्ले टेन्टमा खुम्च्याइदिएको सुन्दर भीरखर्क र नागपूजे !

विपद्ले टेन्टमा खुम्च्याइदिएको सुन्दर भीरखर्क र नागपूजे !
अ+ अ-

अरनिको राजमार्गको सखुवामा निकै भीडभाड छ । राहत लिएर गएका र लिन गाउँबाट झरेकाको राम्रै घुइँचो थियो । राजमार्गबाट भोटेकोशी तरेर घुम्थाङको नागपुजे पुग्न पन्ध्र÷बीस मिनेट लाग्छ । लगेको राहत जिम्मा लगाएपछि दाता पहिरो हेर्न गाउँ उक्लिन्छन् । सडक झरेका पीडित पनि राहत बोकेर फर्कदा बाक्लै ओहोर–दोहोर छ, सखुवा–नागपुजेको गोरेटोमा ।  

असोजको पहिलो दिन एक्साभेटर कर्कस आवाज निकालेर पहिरो पन्छाइरहेको थियो । र, आफ्ना बेपत्ता प्रियजनको शव भेटिन्छ कि भनेर डिलबाट टुलुटुल हेरिरहेका थिए तिनका आफन्त । आशौचको औपचारिकता पूरा गरिरहेका राजु नेवार, कर्णबहादुर नेवार र राजेन्द्र श्रेष्ठ पहिरोले सिनित्त पारेको घर रहेको ठाउँ देखाउँदै मृत र बेपत्ता परिवारका सदस्य सम्झिदै थिए । यि तीन जना सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने परिबारका सदस्य हुन् । खोजीमा लागेकाका अनुसार शव भेटिने संभावना न्यून थियो । तर, लाश नपाएसम्म आश भइहाल्छ !

मर्ने त मरिहाले, बाँच्नेका लागि व्यवस्थापन कम्ती गाह्रो छैन । १६७ विस्थापित परिवारलाई कोदोबारी फाँडेर गुजुमुज्जु टाँगिएको टेन्टमा राखिएको छ । पहिरोको भोलिपल्ट पन्ध्र थान जम्मा भएको टेन्ट अहिले जसोतसो सबैलाई पुगेको छ । राहतमा जम्मा भएका सामान पीडितले त्यसकै एक कुनामा थन्क्याएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि त्यही टेन्ट नै संसार हो विस्थापितको संसार । विपद्ले भीरखर्क र नागपूजेलाई टेन्टमा खुम्चयाइदियो । 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको भीरखर्क र नागपुजे, जहाँ भदौ २७ गते राति विशाल पहिरो झरेको थियो । ‘दुई बजेतिर ठूलो आवाजले विस्फोटजस्तो भयो । कहाँ–के भयो भनेको त एकैछिनमै गाउँमै कोलाहल सुरु भइहाल्यो’ स्थानीय बादिल लामाले भने– ‘पहिरो झर्लाजस्तो थिएन । तर, केही मिनेटमै गाउँ भोटेकोशीको भेलमा पुर्याएछ ।’ पहिरो यता घुम्थाङमा जीवन त छ । तर, निरस, निश्प्राण र अत्यन्तै कारुणीय, टिठलाग्दो । 

बाह्रबिसे नगर क्षेत्रभरकै रोज्जा गाउँ थियो नागपुजे, बस्ती र कृषि उत्पादनको दुबै दृष्टिले । राजमार्गबाट पनि नजिक । २०७२ सालको विनाशकारी भूकम्पले गुजुमुज्ज बस्ती र एउटै लहरमा उभिएकाझैं देखिने घर–गोठ सोत्तर बनायो । बाँचेपछि ओत लाग्ने थलो बनाउनै पर्ने, खनिखोस्री गर्नैपर्ने बाध्यताले भूकम्पको पीडा बिर्सिएर उठ्न र जीवनको लयमा फर्किएका थिए गाउँले । तर, भदौ २७ गते राति प्रकृतिले त्यही नागपुजेलाई पुस्तौ–पुस्ताका लागि पुग्ने चोट दियो । भीमकाय पहिरो झ¥यो सुन्दर बस्तीमा ।  

भीरखर्कबाट खसेको पहिराले भोटेकोसीसम्मको बाटो तय गर्दा नागपुजे खण्डहर–बगरमा परिणत भयो । पहिरोको मूल भंगालो नै बस्तीबीचबाट छिर्दा ठूलो मानवीय र भौतिक क्षति भयो । अहिलेसम्म १६ जनाको शव फेला परेको छ । १५ जना वेपत्तै छन् । पहिरोले गाउँ नै सिनित्त पारेर उर्लदो भोटेकोसीमा हेलिदिएकाले वेपत्ता भेटिने संभावना न्यून छ । ‘स्थानीयको आग्रहअनुसार अझै खोज्छौं । तर, भेटिने संभावना छैन’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने– ‘बेपत्ताको खोजीसँगै विस्थापितको व्यवस्थापन गरिरहेका छौं ।’ उनकाअनुसार पहिराले तीन अर्ब रुपैयाँ हाराहारीको भौतिक क्षति भएको छ ।    

हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्ने आश नमरेकाले खोजीको औपचारिकता जारी छ । आफ्ना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आशौच बारेका सन्तान मध्य पहिरोमा आएर कुर्छन र फर्किन्छन् । बेपत्तामध्ये एक जनाको शब बसेरी र अर्काको बलेफीमा भेटिएकाले अधिकांशलाई भोटेकोशीको उर्लदो भेलले बगाएको ठान्छन् स्थानीय पनि । परिवारका पाँच सदस्य गुमाएका कर्णबहादुर नेवारका आमा र भाइको शब भेटियो, अरुको अत्तोपत्तो छैन । ‘अब भेटिदैन होला, संस्कारअनुसार सबैको काजकिरियो गर्छौ उनले भने । आमा, बुबा र बहिनी गुमाएका राजेन्द्र श्रेष्ठको आमाको शव मात्रै भेटियो । ‘बाह्रविसेबाट विहानै ६ बजे आउँदा घर कहाँ थियो भन्ने पनि थाहा भएन’ उनले भने ।   

भीरखर्कबाट सुरु भएको पहिराले नेवार टोलतिर पनि शाखा फैलायो । बढ्ता क्षतिचाहिँ नागपुजेमै ग¥यो । भीरखर्क र नेवारटोलका ११ जनाकै शव फेला परिसकेको छ । नागपुजेका अधिकांशको अवस्था अज्ञात छ । शव भेटिएका परिवारहरूले सद्गत गरे, काजकिरियामा छन् । नभेटिएकाका आफन्त पनि काजकिरियाको तयारीमा छन् । 

विस्थापितलाई सुरुका दुई÷तीन छाक स्थानीय युवाले आफ्नै गोजी टक्टक्याएर दालमोठ–चिउरा ख्वाए । अहिले प्रत्येक परिवारका लागि आफैं भातभान्छा चलाउन सक्ने गरी सामग्रीको जोहो गरिएको छ । तर, जति दुःखमा पनि मान्छेको मनले लोभ गर्न छोड्दो रहेनछ । केही पाइएन भन्ने पनि छन् । आफन्त गुमाएकाहरु स्थानीय सरकारको व्यवस्थापनमा सुन्तुष्ट नै देखिए । तर, कम क्षति व्यहोर्ने चाहिँ बढी असन्तुष्ट । वडाध्यक्ष मिनबहादुर श्रेष्ठ संभव भएसम्म राम्रो व्यवस्थापन गरिएको दावी गर्छन् । परिवारमा मृत्यु, घरको पूर्ण र आंशिक क्षति वा जग्गा–जमिन गुमाएका आधारमा राहतको व्यवस्थापन गरिएको उनको भनाइ छ । विस्थापितको व्यवस्थापनमा स्थानीय युवा समूहको नेतृत्व गरिरहेका रेशम प्रधान भन्छन्– ‘विपद्को व्यवस्थापन कठिन भएपनि यहाँ अन्तको जस्तो भद्रगोल छैन, अस्थायीसँगै स्थायी बसोबासको योजना बनाउन भने ढिला गर्नु हुन्न् ।’ उनका अनुसार तीन तहका सरकारको भूमिका प्रभावकारी नै छ । 

‘भूकम्पपछि दुःख गरेर उभ्याएको घर पहिराले भोटेकोसीमा मिलाइदियो । खेतबारी पनि भोटेकोसीमै  पुग्यो । दुईचार दिन त यसरी चल्ला, जिन्दगी नै कसरी बिताउने ?’ पहिरो पीडित ज्ञानबहादुर श्रेष्ठले भने । बाह्रविसे नगरपालिकाले राहतमा एकद्वारको नीति लिएको छ । नगरपालिकामार्फत नै संकलन र प्राथमिकताको आधारमा वितरण गर्ने । मुख्य पीडितले नपाउने, कम क्षति भएकाले बढी पाउने, राहतका नाममा राजनीतिक प्रतिस्पर्धा हुने र ढुवानी पनि सहज होस् भनेर नगरपालिकाले यस्तो नीति लिएको  हो । दाताले ल्याउने राहत बाह्रविसेकै बुझेर आवश्यकताअनुसार घुम्थाङ पुर्याउने गरेको छ नगरपालिकाले । 

विपद् व्यवस्थापनमा जनप्रतिनिधि एकदमै खटिएका छन् । यस्तै बेलामा हो उनीहरुको वास्तविक मूल्यांकन हुने पनि । दसजना भन्दा बढी आफन्त गुमाएका वडाध्यक्ष श्रेष्ठ शोककाबीच दिनरात खटिएका छन् । पहिरोपछि उपमेयर सुशीला पाख्रिनको अधिकांश समय घुम्थाङमै बितेको छ । मेयर बेला–बेलामा पहिरोस्थल पुगेर पीडितलाई सान्त्वना दिन्छन्, स्थानीय सरकारको अनुभूति दिलाउने बाचा गर्छन । 

‘तत्कालिन व्यवस्थापनको पहिलो चरण सकिएको छ, अब विस्थापितको बसाई थप सहज बनाउने र स्थायी प्रबन्धका लागि प्रदेश र संघीय सरकारसँग हारगुहार गर्ने चरण सुरु भएको छ’ बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने । उनका अनुसार प्रदेश र संघीय सरकारले विस्थापितका लागि स्थायी आबासका लागि जमिन खोज्न भनिसकेको छ । पहिरो लगत्तै घुम्थाङ पुगेका बागमती प्रदेशका मन्त्री अरुण नेपालले टालटुले समाधान खोजेर नहुने भन्दै जोखिमपूर्ण बस्ती स्थानान्तरणमै प्रदेश सरकारको जोड रहेको बताएका थिए । तर, स्थानीय बस्ती र कृषि उत्पादनमै अब्बल ठाउँ छोडेर कहाँ जाने ? भन्छन् । 

सिन्धुपाल्चोक, पछिल्ला वर्ष प्रकृतिले निर्मम प्रहार गरिरहेको जिल्ला । २०७१ साल साउन १७ गते जुरे पहिरोको मार खेपेयता यो जिल्लाले मध्यम र ठूलास्तरका १३ वटा विपद् खेपेको छ । २०७२ सालको भूकम्पले अधिक मानवीय र भौतिक क्षति गरेको यहाँ पछिल्ला विपद्मा परेर मात्रै ३ हजार ७ सय ८७ बढीले ज्यान गुमाएका छन् । भूकम्पमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो ।  पछिल्लो तीन महिना (असार, साउन र भदौ) मा बाढी र पहिरोका कारण ७२ जनाको मृत्यु भएको छ । चालीस जना बेपत्ता छन । विपद्ले घेरेकै कारण सरकारले सिन्धुपाल्चोकलाई ‘विपद् क्षेत्र’ घोषणाको तयारी   गर्दै छ । संभवत् मन्त्रिपरिषद्को आउँदो बैठकले यसबारे निर्णय गर्ने छ ।