६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजाको तालिम प्रदान गरेको छ । तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् ।

दुई महिनाअघि विद्यालयले कक्षा ६ देखि ९ सम्मका बाजा बजाउन इच्छुक ११ जना विद्यार्थीलाई तालिम प्रदान गरेको थियो । पञ्चेबाजा बजाउने तालिममा सहभागी १० वर्षीय विद्यार्थी होम थापाले बाजा बजाउन सिकेसँगै गाउँमा भएका तीन वटा कार्यक्रममा पञ्चेबाजा बजाएर आम्दानी गरेको बताउनुभयो ।

ढोलक, सनही र नरसिंहा बाजा बजाउन सिक्नुभएका थापाले भविष्यमा संस्कृति संरक्षणसँगै व्यावसायिक रूपमा यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

शिक्षालाई सीपसँग जोड्ने योजनाअनुसार विद्यालयका विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोपराज कोइरालाले बताउनुभयो । देवचुली नगरपालिकाको समन्वयमा विद्यार्थीलाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

पञ्चेबाजा तालिमले शिक्षासँगै सीपलाई जोड्ने काम गर्नुका साथै सङ्कटमा रहेको पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष कोइरालाले विश्वास व्यक्त गर्नुभयो । “तालिम लिएपछि “विद्यार्थीहरूमा सांस्कृतिक र कलासम्बन्धी सीप विकास भएको छ, साथै नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने प्रसाय भएको छ, यसले पञ्चेबाजा संरक्षण र कला, संस्कृतिमा प्रवर्द्धनमा सहयोग पुग्ने छ”, उहाँले भन्नुभयो ।

पहिलो चरणमा केही विद्यार्थीलाई मात्रै तालिम प्रदान गरिएको बताउँदै अध्यक्ष कोइरालाले क्रमश: अन्य विद्यार्थीको आवश्यकता र इच्छाअनुसार तालिम प्रदान गरिने जानकारी दिनुभयो ।

विद्यार्थीहरू अहिले समूह बनाएर बाजा सिक्ने र अध्ययनसँगै वरपरका  कार्यक्रममा बाजा बजाउन जाने गरेका छन् । “नियमित रूपमा आफ्नो अध्ययनको काम भइरहेको छ, यसबाहेक फुर्सदमा नेपालको मौलिकता बोकेको पुरानो बाजालाई अगाडि बढाउनुपर्छ भन्ने लागेर बाजा बजाउने तालिम लिएका हौँ”, विद्यार्थी सम्राट नेपालीले भन्नुभयो, “साथीहरू भएर कार्यक्रममा बाजा बजाउन जाँदा रमाइलो हुनुका साथै आम्दानी पनि भइरहेको छ ।”

विद्यार्थीहरूले अहिले पनि बाजा बजाउन सिक्ने कामलाई निरन्तरता दिइरहेका छन् । विद्यालयको प्रशिक्षकका रूपमा खटिनुभएका भीमबहादुर परियारका अनुसार विद्यार्थीले राम्रोसँग पञ्चेबाजा बजाउने गरेका छन् । साना विद्यार्थीलाई आफूले जानेको सीप सिकाउन पाउँदा खुसी लागेको पउहाँले बताउनुभयो ।

विद्यार्थीले बाजा बजाउन सिकेसँगै बाजा, कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन हुनुका साथै पुस्तान्तरण समेत भइरहेको प्रशिक्षक परियारले उल्लेख गर्नुभयो । साना बालबालिकाले पञ्चेबाजा बजाएको देख्दा विद्यालयका अभिभावक उत्साहित भएका उहाँको भनाइ छ । “सबैले यो फरक कार्य भयो, सानो उमेरमा राम्रो बाजा बजाए भनेर उत्साहित हुँदै प्रशंसा गर्नुभएको छ”, परियारले भन्नुभयो । रासस