७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवार बस्तीमा संस्कृति आदानप्रदान



अ+ अ-

गण्डकी । नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ । परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लामा रहेका नेवार बाहुल्य बस्तीमा संस्कृति आदानप्रदान कार्यक्रम गर्ने गरिएको समाजका अध्यक्ष सुरेश सायमी मानन्धरले बताउनुभयो ।

मुख्यगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिलाई अन्यत्र ठाउँमा परिचित र अन्तरघुलन गराउने उद्देश्यले समाजले यस यसलाई अभियानका रूपमा निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । सोही सिलसिलामा शनिबार बागलुङ सदरमुकाममा उक्त कार्यक्रम गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । समाजले तीन सय वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरेको हो ।

नेपाल भाषा मंका: खल: बागलुङको आयोजना र आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका तर्फबाट काठमाडौँमा प्रचलित धिमे, कुमारीलगायत परम्परागत नाच प्रस्तुत गरिएको थियो । यस्तै बागलुङको ऐतिहासिक हनुमान नाच, लाखे नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको मंका: खलका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो । स्थानीय लोकतान्त्रिक चोकमा भएको कार्यक्रम समाजका पदाधिकारी, सदस्य, कलाकारलगायत एक सय २० जना काठमाडौँबाट आमन्त्रित गरिएका थिए । उनीहरूले बागलुङवासीलाई नेवारी चलनअनुसारको सगुन पनि खुवाएका थिए ।

नेवारी वेशभूषामा सजिएका कलाकार र पाहुनाको उपस्थितिले कार्यक्रम उत्सवमय बनेको थियो । दर्शकदीर्घाबाट पनि रूचिपूर्वक कार्यक्रमको अवलोकन गरिएको थियो । काठमाडौँ–बागलुङबीचको नेवारी संस्कृतिको चिनारी र आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको मंका: खलका अध्यक्ष भारीले बताउनुभयो । कार्यक्रममा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नेवार जाति संस्कृतिमा अब्बल र धनी रहेको बताउनुभयो । सयौँ वर्ष पुराना गीत र नाचलाई जोगाएर राख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस्ता क्रियाकलाप अन्य समुदायका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

मंका: खल:का पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले संस्कृति आदानप्रदानमार्फत भाइचारा र एकताको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण भाषा, कला र संस्कति विश्वकै लागि अभूतपूर्व रहेको धारणा राख्नुभयो । नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको हुँदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नेवार समुदायले आफ्नो मौलिक जात्रा, नाच, गीत, पर्व, भजन, संस्कार, खानपान, संस्कृति र सम्पदा संरक्षण गर्दै आएको छ । बागलुङमा पनि भदौरे जात्रा, हनुमान, लाखे नाच, जोगी, रोपाइँ नाच आदि प्रचलनमा छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खल:ले अगुवाइ गर्दै आएको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा कतिपय नाच लोप हुने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित केही नाच हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको भनाइ छ । रासस