२४ पुष २०८१, बुधबार
,
Latest
एमाले र माओवादीको केन्द्रीय समिति बैठक : आफू ‘ठीक’, अरु सच्चिनुपर्ने ! तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या साना किसानको १४ प्रतिशत बोनस शेयर पारित भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवार बस्तीमा संस्कृति आदानप्रदान



अ+ अ-

गण्डकी । नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ । परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लामा रहेका नेवार बाहुल्य बस्तीमा संस्कृति आदानप्रदान कार्यक्रम गर्ने गरिएको समाजका अध्यक्ष सुरेश सायमी मानन्धरले बताउनुभयो ।

मुख्यगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिलाई अन्यत्र ठाउँमा परिचित र अन्तरघुलन गराउने उद्देश्यले समाजले यस यसलाई अभियानका रूपमा निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । सोही सिलसिलामा शनिबार बागलुङ सदरमुकाममा उक्त कार्यक्रम गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । समाजले तीन सय वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरेको हो ।

नेपाल भाषा मंका: खल: बागलुङको आयोजना र आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका तर्फबाट काठमाडौँमा प्रचलित धिमे, कुमारीलगायत परम्परागत नाच प्रस्तुत गरिएको थियो । यस्तै बागलुङको ऐतिहासिक हनुमान नाच, लाखे नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको मंका: खलका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो । स्थानीय लोकतान्त्रिक चोकमा भएको कार्यक्रम समाजका पदाधिकारी, सदस्य, कलाकारलगायत एक सय २० जना काठमाडौँबाट आमन्त्रित गरिएका थिए । उनीहरूले बागलुङवासीलाई नेवारी चलनअनुसारको सगुन पनि खुवाएका थिए ।

नेवारी वेशभूषामा सजिएका कलाकार र पाहुनाको उपस्थितिले कार्यक्रम उत्सवमय बनेको थियो । दर्शकदीर्घाबाट पनि रूचिपूर्वक कार्यक्रमको अवलोकन गरिएको थियो । काठमाडौँ–बागलुङबीचको नेवारी संस्कृतिको चिनारी र आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको मंका: खलका अध्यक्ष भारीले बताउनुभयो । कार्यक्रममा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नेवार जाति संस्कृतिमा अब्बल र धनी रहेको बताउनुभयो । सयौँ वर्ष पुराना गीत र नाचलाई जोगाएर राख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस्ता क्रियाकलाप अन्य समुदायका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।

मंका: खल:का पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले संस्कृति आदानप्रदानमार्फत भाइचारा र एकताको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण भाषा, कला र संस्कति विश्वकै लागि अभूतपूर्व रहेको धारणा राख्नुभयो । नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको हुँदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नेवार समुदायले आफ्नो मौलिक जात्रा, नाच, गीत, पर्व, भजन, संस्कार, खानपान, संस्कृति र सम्पदा संरक्षण गर्दै आएको छ । बागलुङमा पनि भदौरे जात्रा, हनुमान, लाखे नाच, जोगी, रोपाइँ नाच आदि प्रचलनमा छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खल:ले अगुवाइ गर्दै आएको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा कतिपय नाच लोप हुने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित केही नाच हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको भनाइ छ । रासस