७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
अ+ अ-

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहनुभएको थिएन । बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने सपना साकार हुन सकिरहेको थिएन ।

‘‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’’ उहाँले भन्नुभयो,‘‘आफ्नै घरदैलोमा पैसा नतिरिकनै आँखाको शल्यक्रिया गर्न पाउँदा त खुसीको कुनै सीमा छैन ।’’ आँखाको शल्यक्रिया गर्नुअघिसम्म नाति–नातिनाको सहारा लिएर हिँड्नुपर्ने अवस्था पुगेको स्मरण गर्नुभयो ।‘‘आँखा शल्यक्रिया गर्नु अघिसम्म त घरका सानातिना काम गर्न पनि धेरै गाहे हुने गथ्र्यो,’’ उहाँले भन्नुभयो,‘‘घर वरिपरि आउँजाउ गर्न पनि कसैको सहारा लिनुपर्ने हुन्थ्यो । अब त कसैको सहाराबिनै ठमठमती हिँड्नसक्ने भएकी छु ।’’

उहाँ मात्रै होइन् पर्सागढी नगरपालिका–७ टिकुलियाका ६२ वर्षीया रामचन्दर साहलाई पनि मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उहाँका ज्वाइँ नारायण साह तेलीले पुसकोे १३ गते पर्सागढी नगरपालिका–४ बर्वाछटैलीस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यामिक विद्यालयमा आयोजित बृहत आँखा शिविरमा ल्याउनुभएको थियो । ‘‘बुढ्यौली लागेसँगै आँखाले नजिकको वस्तु पनि छुट्टाउनै नसक्ने भइसकेको थिएँ,’’ मितियाविन्दुको शल्यक्रिया गर्नुभएका रामचन्दरले भन्नुभयो ‘‘आफ्नै पालिकामा भएको शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरेर फेरि आँखाको ज्योति फर्किदा खुसी लागेको छ ।’’

शिविरमा पर्सागढीका मात्रै होइन, बहुदरमाई, सखुवाप्रसौनी, जिराभवानी, पकाहामैनपुर र जीतपुर सिमरा उपमहानगरपालिकासहित सीमावर्ती भारतीय नागरिकसहित पाँच सय ६५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणको सदरमुकाम मोतिहारीका हवास देवानले पनि सोही शिविरमा आफ्नो मोतियाविन्दुको शल्यक्रिया गराउनुभएको छ ।

‘‘लामो समयदेखि आँखा हेर्न नपाउँदा जिन्दगी नै अँध्यारो भएको थियो । नेपालमा आँखाको उपचार राम्रो हुन्छ, भनेर आएको हुँ,’’ उहाँले भन्नुभयो ‘‘ शल्यक्रिया गरेसँगै अहिले छर्लङ्गै देख्ने भएको छु ।’’ भारतीय नागरिक देवानले भारतका विहार राज्यमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र प्रभावकारी हुने भएकाले आउने गरेको बताउनुभयो । ‘‘भारतीय नागरिक भए पनि मोतियाविन्दुको शल्यक्रिया गर्न कुनै पनि अप्ठेरो भएन्’’ उहाँले भन्नुभयो ।स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले ४० वर्षे उमेर पार गरेसँगै मोतियाविन्दुको समस्या देखिँदै आइरहेको बताउनुहुन्छ,‘‘पहाडी जिल्लाको तुलनामा तराई–मधेशमा जनसङ्ख्या र औद्योगिक करखानाले प्रदूषण गरेकाले पनि आँखा सम्बन्धित समस्या धेरै देखिने गरेको छ,’’ उहाँले भन्नुभयो ।

गत पुस ११ देखि १३ गतेसम्म भएको आँखा शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सक डा सागर रुइत, डा दीक्षा विष्ट नेतृत्वको स्वास्थकर्मीको टोलीले आँखाको उपचार गरेको थियो । प्रतिष्ठानका बाह्य कार्यक्रम निर्देशक निम्खेल लामाले प्रतिष्ठानको प्राविधिक सहयोगमा मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरेको जानकारी दिनुभयो । ‘‘पहाडी जिल्लामा भन्दा तराई–मधेशका जनतामा मोतियाविन्दुको समस्या धेरै देखिने गर्छ,’’ उहाँले भन्नुभयो,‘‘आँखाको हेरचाह र सुरक्षामा विशेष ध्यान दिन जरुरी भइसकेको छ ।’’

प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा मोतियाविन्दुको शिविरमार्फत शल्यक्रिया सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । मोतीविन्दुको शल्यक्रिया दुई पद्दतिबाट गर्ने गरिन्छ । मेसिनबाट ९फेको० र म्यानुअफ स्मल इन्सिसन क्याट¥याक्ट सर्जरी९एमएसआईसीएस० बाट गरिन्छ । मोतियाविन्दुको फेको प्राविधिमार्फत शल्यक्रिया गर्दा कम्तीमा पनि रु १८ हजार खर्च लाग्ने गर्छ भने ‘एमएसआइसीएस’ प्रविधिमार्फत गर्दा कम्तीमा रु १० हजार खर्च लाग्ने गर्छ । शल्यक्रिया पछि बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो ।

पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले नगरपालिकाले मोतियाविन्दुको शल्यक्रिया गर्ने बिरामीको लागि आवास, खाना र यातायातको प्रबन्ध मिलाएर शिविर सञ्चालन गरेको बताउनुभयो । ‘‘मोतियाविन्दुका बिरामीलाई आफ्नो घरदैलोमा नै शिविर गरेर आँखाको उपचार गराउन सक्यौँ,’’ उहाँले भन्नुभयो,‘‘तिलगङ्गा आँखा प्रतिष्ठानले प्राविधिक र सिङ्गापुरको सिंइग होप संस्थाको सहकार्यमा मात्रै सम्भव भएको हो ।’’ उहाँले पर्साका विभिन्न ११ ठाउँमा आँखा जाँच शिविर गर्दा सात सयभन्दा धेरै मोतियाविन्दुका बिरामी भेट्टिए पनि बिरामीमा उच्च रक्तचाप र मधुमेह देखिएकाले केही शल्यक्रिया गर्न प्राविधिक रुपमा नमिलेको जानकारी दिनुभयो ।
आँखाको बिरामीको हब बन्दै वीरगञ्ज

नेपालमा सस्तो र गुणस्तरीय आँखाको उपचार हुन थालेसँगै भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यका बिरामीको उपचार गर्ने थलोको रुपमा पनि वीरगञ्जसहितका आसपासको क्षेत्र भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले सस्तो र गुणस्तरीय लेन्स उत्पादन गरेर बजारीकरण गरेसँगै भारतीय आँखाका बिरामी पनि वीरगञ्जमा उपचार गराउन आउने सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले वीरगञ्जमा ६० प्रतिशत भारतीय नागरिक र ४० प्रतिशत स्वदेशी आँखाका बिरामी उपचार गर्न आउने बताउनुहुन्छ । ‘‘आँखाका बिरामीले गर्मीमा भन्दा पनि जाडो मौसममा शल्यक्रिया गर्न रुचाउँछन् । गर्मी मौसममा पसिनाको कारणले घाउको सङ्क्रमण बढ्नसक्ने जोखिमको कारणले शल्यक्रिया गर्न रुचाउँदैनन्,’’ उहाँले भन्नुभयो,‘‘जाडोको मौसम आँखा वा मोतियाविन्दुको शल्यक्रिया गर्नका लागि उपयुक्त मौसम मान्ने गरिन्छ ।’’

स्वास्थ्य कार्यालय पर्साका प्रमुख साह भारतभन्दा नेपालमा आँखाको उपचार धेरै गुणा सस्तो र उपचार पद्दति गुणस्तरीय भएकाले नेपालमा आउने गरेको बताउनुहुन्छ । पर्सामा डेढ दर्जनभन्दा धेरै आँखा अस्पताल रहेका छन् । वीरगञ्जमा धेरै आँखाका बिरामीको उपचार गर्ने अस्पतालमा केडिया आँखा अस्पताल, दृष्टि, किरण आँखा अस्पताल, वीरगञ्ज सामुदायिक आँखा केन्द्रलगायतका रहेका छन् । वीरगञ्जमा मात्रै वार्षिक डेढदेखि दुई लाख भारतीय बिरामी उपचार गराउन आउने गरेका छन् । रासस