२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित



अ+ अ-

इलाम । जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।

रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् ।

गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”

गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ ।

तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच(१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो ।

गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ । रासस