१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छः प्रचण्ड



अ+ अ-

झापा, १५ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गर्नुभएको छ । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो।

आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताउनुभयो।

‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उहाँले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताउनुभयो। यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताउनुभयो। ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’—उहाँले भन्नुभयो—‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उहाँले भन्नुभयो— ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ, म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’

आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै उहाँले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताउनुभयो। ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिंदै गर्दा भनेको थिएँ— भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’—उहाँले भन्नुभयो— ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं।’

अध्यक्ष प्रचण्डले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको बताउनुभयो। ‘मैले पहिलोपटक भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्गको सुरुवात गरें, जो अब चाँडै सम्पन्न हुँदैछ’— उहाँले भन्नुभयो—‘सामाजिक न्यायको क्षेत्रमा गरीब किसानको कृषि ऋण मिनाह गर्ने अवसर मलाई प्राप्त भयो।’

आफूले पहिलो जस्तै छोटो अवधिमा बिताएको दोस्रो कार्यकालमा मुलुकबाट लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर पाएको बताउनुभयो। ‘यसबाट जनतामा नयाँ आशाको दियो जलेको थियो, धेरै उच्च पदस्थ भनिने नेता र कर्मचारी र भूमाफियाहरु भ्रष्टाचारको अभियानमा समातिदै गए’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपरेको नेपाली जनताले छोटो अवधिमा प्रष्ट रूपमा बुझ्नु भएको छ भन्ने देशव्यापी लहरबाट पनि पुष्टि हुन्छ।’

अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण गराउँदै उहाँले सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताउनुभयो। २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उहाँले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताउनुभयो। दुई दिनको बीचमा आफूले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाएको उल्लेख गर्दै उहाँले देशभर देखिएको ध्रुवीकरणको लहर अर्थपूर्ण रहेको बताउनुभयो।

शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति
अध्यक्ष प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति आपत्ति जनाउनुभयो। ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो—‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’

झण्डै छ सय जना माओवादी केन्द्रमा प्रवेश
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब छ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेका छन् । कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खानुभएको थियो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।