६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान



अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् ।

दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनुभयो । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”

पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।

“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भन्नुभयो, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”

प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उहाँले बताउनुभयो । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।

सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताउनुभयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताउनुभयो ।

“गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई नि:शुल्क वितरण गरिएको छ । रासस