२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला



अ+ अ-

पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।

यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाइले जानकारी दिनुभयो ।

सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउनुहुन्छ । “देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन । केही नारायणगढ, काठमाडाँै र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्”, उहाँले भन्नुभयो ।

यहाँका किसानमम्धये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्नुहुन्छ । उहाँले गत वर्ष रु पाँच लाखको सुन्तला बिक्री गर्नुभएको थियो । एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उहाँको भनाइ छ ।

यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । त्यसमध्ये भोजकुमारी चापागार्इं, बाबुराम तिमिल्सिनासमेत हुनुहुन्छ । दैनिकजसो ट्रकहरू आएर सुन्तला टिपेर लैजाने गरेको स्थानीय प्रकाश चापागाईंले बताउनुभयो ।

यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागाइले बताउनुभयो ।

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन् । यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ ।

सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रूपमा प्रत्येक परिवारले  रु दुई लाखदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईंले बताउनुभयो । “मकै, कोदो लगाउँदा रु २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाई हुन्छ,” उहाँले भन्नुभयो, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषकहरू धेरै छन् ।”

सुरुमा केहीले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै त्यसको विस्तार भएको हो । आम्दानी राम्रै छ तर जलवायु परिवर्तनको असरसँगै सुन्तलामा रोगकिराको प्रकोप बढ्ने र रूखहरु सुक्दै जान थालेपछि कृषक चिन्तित छन् । यस वर्ष पनि औँसा किराको प्रकोपले केही सुन्तला झरेर नष्ट भएका स्थानीयको गु्नासो छ । रासस