काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ ।
आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।
पूर्वउपाध्यक्ष रहेका रावललाई एमालेले कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको एमालेले जनाएको छ । सचिवालय बैठकले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए । अध्यक्षमा पराजित भएपछि उनले केन्द्रीय सदस्य पदलाई अस्वीकार गरेका थिए ।