४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एनपिएलले उघारेको सपना

एनपिएलले उघारेको सपना
अ+ अ-

देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल)को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो । यसले देशीय मात्रै नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पु¥याएको मात्रै छैन, बरु खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।

जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपिएलमा सहभागी आठ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पु¥याउन सहयोग पुगेको छ । विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्रै सञ्चार भएको छैन, बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पु¥याएका छन् । यसरी हेर्दा क्रिकेटको यो घरेलु महाकुम्भले खेलमात्रै नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्रै नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । यो सँगै एनपिएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ ।

नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आआफ्ना महत्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावना र आत्मीयरुपमा पनि जोडिआएका छन् । कुनै कुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैँमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ, क्रिकेट पनि ।

क्रिकेटको विश्व इतिहास सदियौं लामो छ । १६ औं शताब्दीको शुरुआततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिरमात्रै शुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न शुरु गरेका थिए । शासकीय दायराबाट विस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । यो खेलको साँघुरो इतिहास अहिले यो निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्यको यात्रामा अघि बढिरहेको छ । १६ औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, बरु क्रिकेट अब कैयौ राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ ।

नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र शुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भविष्य देखिरहेका छन् र खोजिरहेका छन् । नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको शुरुआत भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट सङ्घ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्रै अन्तर्राष्ट्रिय क्रिकेट सङ्घबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आम नागरिकस्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न शुरु भएको इतिहासहरू भेटिन्छन् ।

सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन शुरु गरेका थिए । १९१९तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अञ्चलस्तरीय समूहहरू सहभागी भएका थिए । त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिकरुपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ । नेपाल अब एकदिवसीय क्रिकेटको मान्यता प्राप्त राष्ट्र मात्रै होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्रै नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिष्पर्धामा भाग लिनसक्ने भइसकेको छ ।

खासगरी अहिले क्रिकेट खेल एशियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रुपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्थाजस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्रै होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् । अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्रै होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ । अहिले भारतमा ससाना प्रतियोगिताहरू मात्रै होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र विस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् । भर्खरै सम्पन्न एनपिएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपिएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको शुरुआती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरु व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ । नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मदत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छोड्नुपर्ने बाध्यता हट्दैछ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपिएलले छोडेको छ ।

हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेलक्षेत्र सबल हुन जरुरी छ । तर हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उतिसारो प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्तिविकासका लागि गठन भएका सङ्घसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ । टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्यो भन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब मात्रै खेलाडीको आफ्नो मेहनत र परिश्रमबाट मात्रै सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ न खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ ।

अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासिनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रियस्तरको एसिसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो । तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको शुरुआत भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एकमात्रै रङ्गशाला हो । यति हुँदासम्म पनि राज्यले रंगशालालगायत खेल क्षेत्रको भौतिक बिकासमा खासै उदार भएको देखिंदैन । ठाउँठाउँमा मैदानहरू बन्न शुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथिलिङ्ग अवस्थामा छन् ।

खेल क्षेत्रको यो भौतिक दूरावस्थासँगै कैयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपिएलकै बेला थाहा भयो विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूल्ठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपिएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यस्तै मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरु पनि थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपिएलले छोडेको छ । एनपिएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुनखालको उत्साह, उमङ्ग र गतिशीलता देखिएको छ त्यसलाई राज्यले अवसरका रुपमा लिनुपर्छ । सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ । अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ ।