४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवाँ

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवाँ
अ+ अ-

“नानी, ए नानी, पिप्लामेट खान्छेस् ?”

“खाने नि बा !”

“इ, ला । किनेर खा ।”

आफ्नो जुहारिकोटको गोजिमा भएको पैसाबाट दिनको २ रुपियाँ मलाई चकलेट किनिदिन छुट्याउनु मानौँ बा को दैनिकी थियो । स्कुलबाट घर फर्किन कति पो हतार हुने ! घर पुग्नासाथ उहि बा’को कोटमै आँखा । अनि पर्खाई हुन्थ्यो -त्यहि २ रुप्पेको । त्यस २ रुप्पेको डबलमा लाखौँ रुपियाँले पनि खरिद गर्न नसकिने माया लुकेको हुन्थ्यो बा’को । बिस्तारै समय फेरियो ,समय सङ्गै परिवेश फेरियो, २ रुप्पे २ बाट ५, ५ बाट १०, १० बाट २०, २० बाट ५० भयो तर फेरिएन बा’को कोट । अनि फेरिएन हाम्रा लागि बा’को माया पनि ।

गहुँगोरो वर्णका मेरा बा’को जिउडाल हेर्दा सामान्य हट्टाकट्टा मान्छेभन्दा केही भिन्न थिएन । यतिमात्रैले त बा’को आकृतिको कल्पना भएन होला । म भन्दैछु नि बा कस्ता थिए भनेर । बा’को अनुहार हँसिलो थियो, आँखिभौँ उमेरले सफेद भएका थिए, तालु खुइलिएको थियो । निधारका चाहुरिएका रेखाहरुमा झण्डै एक शताब्दिका अनुभवहरु प्रतिविम्बित हुन्थे । बुढ्यौलीले छोएपनि बा’को अनुहारको चमकमा केही कमी थिएन | दाँतहरु अझै टम्म नै थिए । अँ, माथिल्लो ओठमा देब्रेतिर कोठी जस्तो थियो ।

शिरको ढाकाटोपी र निधारको चन्दनले बा’लाई खुब सुहाउँथ्यो । मैले थाहा पाउँदाको बेलैदेखि बाको दाहिने हातको साँहिली औठीमा सधैँ औठी हुन्थ्यो । अनि बाको त्यो जुहारीकोट ! कैलो रङ्गको त्यो कोट मानौँ बाको जीवनको अभिन्न अङ्ग थियो । त्यो जतिबेलै बाको साथमा हुन्थ्यो । मैला जम्मा भएर धुन पर्दा बाको अनुहार नै मलिनो हुने ! अनि त्यो नसुकुन्जेल “नानी सुक्यो होला” “अब त सुक्यो कि?” भन्दै बिसौँ पटकसम्म पनि हेर्न आइरहने !

बालाई हिँडडुल गर्न पनि असाध्यै मनपर्थ्यो । एकैछिन कतै अडिने भए पो ! खालि हिँडेको हिँड्यै हिँडेको हिँड्यै । हिँड्दा सानोसानो पाईला चालिसिन्थ्यो । हातहरु स्थिर थिएनन् । कारण, बालाई पार्किन्सनस् भन्ने रोग लागेको थियो । त्यसैले त बाको दिनको सुरुवात Levodopa बाट हुन्थ्यो अनि सक्किन्थ्यो पनि Levodopa मै । यति भनिसकेपछि मैले बाको निकै प्यारो साथीको बारेमा किन भन्न छुटाउँथेँ र ! ऊ अरु कोही नभएर बा’को रेडियो थियो । त्यो बा’सँगै सुत्थ्यो, उठ्थ्यो पनि बा’सँगै । एक्लो गृहस्थी जीवनमा त्यो रेडियो नै बाको बोल्ने साथीजस्तो थियो । हुन त हामी पनि बा सँगै नै त हुन्थ्यौँ । तर भनौँ न, बालाई त्यो रेडियो पनि कोट जत्तिकै प्रिय थियो ।

“नानी, ए नानी, यता आइज बा ! मलाई उठाइदे न ! ”

“नानी, चिया पका त बा ! ”

“नानी आज के दिन ?”

नानी फोन लगाइदे न !

“ए, नानी आइछ । कति दिनलाई आइस् नानी ? भोली नै पो गैहाल्ने ? ”

“नानी, अचेल आउनै छोडिस् । फोन पनि गर्दिनेस् । बुढो बा’को माया लाग्दैन तँलाई ? ”

“नानी डाक्टर हुन अब कति समय लाग्छ नानी ? अब त एक दुई वर्षमा भैहाल्छेस् नि है ! ”

“काँ बा, अझै ४/५ वर्ष लाग्छ नि ! ”
“ए, म त बाँच्दिन होला नानी ! ”

अस्पतालको शैय्यामा बा’लाई अचेत अवस्थामा देख्दा मेरा कानमा बा’सँगका यिनै संवादहरु गुञ्जिरहे । “बा, म आएँ बा ह जु…” मनभरि बोल्ने शब्दको कमी थिएन, घाँटीबाट यहाँभन्दा बढी शब्दहरु निस्कन मानेनन् । बाँकी रहेका शब्दहरुलाई आँखाबाट बर्सिने मन रहेछन् क्यारे । खुब रोएँ ।

एकछिनपछि पुनः हिम्मत जुटाएर बोलाएँ – “बा ! ”

“हँ ”

“चिन्यो मलाई ? ”

“ना…नी ? ”

“यति नै रै’छ”

आँसु भरिएका आँखा लिएर अस्पष्ट आवाजमा बा’ले यति भन्दा मेरो शरीर चिसियो । साउने झरीजस्तै आँखाबाट फेरि आँसु बर्सिन थाले । ममीलाई हेरेँ । ममीका आँखा पनि टिलपिलाएका थिए ।

बाबालाई आजभन्दा पहिले कहिल्यै त्यति विवश, त्यति लाचार देखेकी थिइनँ । यता र उतिको दौडधुपले होला बाबा बिरामी जस्तै देखिसिन्थ्यो । ” मेरो बाउलाई बचाउन सक्ने भइनँ” भन्दै गर्दा बाबाका आँखाहरु भरिएका थिए ।

सोमबार बिहान बा भर्याङ उक्लिँदा उक्लिँदै लल्याकलुलुक हुनुभएछ । अनुहार, जिब्रो नै निलो भएको थियो रे । सबैजनालाई बोलाईदे, मलाई सारै गार्हो भयो भनेपछि घरमा आफन्त र इष्टमित्रको जमघट भएछ । त्यस लगत्तै घरमा पूजापाठ गरेर बालाई अस्पताल भर्ना गरिएछ । एक्स रेमा दायाँतिरको फोक्सोमा केही मास देखिएपछि के हो भनेर हेर्न डाक्टरले कन्ट्रास्ट सि.टी गर्ने तयारी गरेको रहेछ तर अन्य जाँचहरुमा बाको मिर्गौलामा पनि केही समस्या देखिएपछि केही समयपछि मात्र गर्ने निधो भएको रहेछ ।

झण्डै १० बजेको हुँदो हो अस्पतालबाट घर फर्कँदा । भित्र छिर्ने बित्तिकै एकसुरले बा’को कोठामा आँखा डुलाइरहेँ । बा’को कोट त्यहीँ थियो । रेडियो त्यहीँ थियो । तर त्यसबखत रेडियोमा कुनै आवाज थिएन । पलङमा पल्टिएर रेडियो सुन्ने बा हुनुहुन्थेन । बा’लाई सम्झिँदा मन कुँडियो । आँखालाई उही नुनिलो पानी नझारी नहुने !

सि. टि.को रिपोर्ट आयो । बा’लाई ब्रोङ्कोजेनिक कार्सिनोमा अर्थात् फोक्सोको क्यान्सर भएको रहेछ। क्यानसर तीव्र गतिले शरीरको अन्य भागमा पनि फैलँदो क्रममा रहेछ । डाक्टरहरुले आश मारिसकेका थिए । सायद मैले अन्दाज पनि गर्न सक्दिनँ होला बा’लाई कति कष्ट भएको थियो भनेर । तर म चाहन्थेँ बा’लाई सञ्चो होस्, म चाहन्थेँ पहिलेजस्तै बा’सँग हाँस्न, जिस्किन, जिस्काउन पाऊँ भनेर । हरेक दिन बा बोलिहाल्नुहुन्छ कि भन्ने आशामा बा’लाई बोलाइरहेँ । “अब धेरै छैन बा, म डाक्टर भैहाल्छु” भनिरहेँ । हरेक ११:११ मा मेरो बा’लाई केही नहोस् भगवान भनेर कामना गरिरहेँ । सम्झिँदै नारायण नारायण जपिरहेँ जपिरहेँ ।

बा’लाई व्यथाले चाप्दै गयो । फोक्सोले न त अक्सिजन लिन सकिरहेको थियो न त कार्बनडाईअक्साईड फाल्न नै । बा’को शरीरमा कार्बनडाईअक्साईड बिस्तार विष जसरी फैलँदै थियो । बा’को त्यस्तो अर्धचेत अवस्था टुलुटुलु हेर्न बाहेक मैले केही गर्न सकिनँ ।

कैयौँ दिनको सङ्घर्षपछि मेरा बा एकाबिहान सधैँका लागि अस्ताए – आफ्नो जीवनावधिको एक अन्तिम दान आँखा दान गरेर । बा’को अनुहार शान्त देखिन्थ्यो – गहिरो निद्रामा डुबेजस्तो । धेरै मान्छेहरु जम्मा भए ।बाबाको कपाल खुइल्याइयो । बाको दागबत्ती भयो । आगोको लप्काले बा’को लाश जलाउँदै गयो । म अवाक् बा’को चिताबाट उडिरहेको कालो पहेँलो धुवाँको मुश्लो हेर्दै हेर्दै यी तीता टर्रा स्मृतिमा हराइरहेँ ।

* जेहन्ता पाण्डे काठमाडौं विश्वविद्धालय धुलिखेलमा एमवीवीएस अध्ययनरत छिन् ।