२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

“आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ”, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।”

यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।

“अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाडौँको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिइएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रुपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “यो उपनिर्वाचनले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा प्रतिवेदन आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवद्र्धन भनेको छ ।”

बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।