१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार



अ+ अ-

झापा: ‘हङरायो’ र ‘हरित परेवा’ फेला पार्ने संरक्षणकर्मी देवेन्द्रकुमार खरेललाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले रु ३१ हजार राशिको यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

खोज तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने एक जना उत्कृष्ट किसान र घरपरिवारमा असल व्यवहार गर्ने एक गृहिणीलाई प्रतिष्ठानले बर्सेनि पुरस्कार दिँदै आएको छ ।

यही मङ्सिर २० गते मेचीनगरको धाइजनमा ती पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

यस वर्ष मेचीनगर–७ काँकरभिट्टा निवासी ५१ वर्षीय देवेन्द्रकुमार खरेल पुरस्कृत हुँदै हुनुहुन्छ । उहाँले हालसम्ममा तीन सय ४० प्रकारका चराको खोज र चार सय ७७ प्रकारका चराको तस्वीर खिचिसक्नुभएको छ । उहाँले नेपालबाट सय वर्षअघि नै लोप भइसकेको घोषणा गरिएको हङ्रायो नामक दुर्लभ चरा २०७८ साल पुस ६ गते इलामको सूर्योदय नगरपालिकामा फेला पारी तस्वीर र भिडियो खिच्नुभएको थियो चरा संरक्षणमा लाग्नुभएका उहाँले २०७७ साल मङ्सिर ९ गते मेचीनगर–७ मा नेपालमै पहिलोपल्ट हरित परेवा नामको चरा फेला पारेर त्यसको पनि तस्वीर तथा भिडियो खिच्नुभएको थियो ।

यसैगरी, प्रतिष्ठानले मेचीनगर–५ निवासी अनिताकुमारी कार्कीलाई लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार र बुद्धशान्ति वडा नं ५ निवासी रेणुका सङ्ग्रौला चापागाईँलाई लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव डम्बर देउजाले जानकारी दिनुभयो ।

उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने कार्कीले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई कसरी व्यावसायिक कृषिमा रुपान्तरण गर्न सकिन्छ भनेर नमूना प्रस्तुत गर्नुभएको छ । तीन दशक शिक्षण पेशा गरेर सेवा निवृत्त उहाँले जैविक प्रविधि र मलखादबाट पाँच कठ्ठामा सागसब्जी र फलफूल उब्जाउँदै आउनुभएको छ ।

उत्कृष्ट गृहिणी पुरस्कार पाउने चापागाईँ क्यान्सर सङ्क्रमित वृद्धावस्थाका सासू दिलकुमारी चापागाईँ र ससुरा शिवलाल चापागाईँको नियमित उपचार र हेरचाहमा समर्पित बुहारी हुनुहुन्छ । उहाँका छोरा सौरभ चापागाई पनि जन्मजात शारीरिक अशक्त हुनुहुन्छ । बिरामी सासू र ससुराको स्याहारमा उहाँको समर्पणको कदर गर्दै नमूना बुहारीको रुपमा उहाँलाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बानियाँले बताउनुभयो । रासस