३१ श्रावण २०८३, आईतवार
,
Latest
राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । चौथो सातामा प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा थुप्रै रेकर्ड राखेको छ ।

यसैबीच, अहिलेसम्मकै सर्वाधिक हिट चलचित्र पूर्णबहादुरको सारंगीविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, दरवारमार्गमा उजुरी परेको छ ।

चलचित्र निर्माता तथा कलाकार अजित लामिछानेले आफ्नो चलचित्र ‘लाज’को कथा र केही प्लटहरु लिएर चलचित्र पूर्णबहादुरको सारंगी बनाएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा कथा चोरी सम्बन्धि उजुरी दिएका हुन् ।

अजित लामिछाने चलचित्र लाजका लेखक समेत हुन् । अजितकै लेखनमा यस अघि लघु चलचित्र लाज निर्माण भएको थियो । चलचित्र लाज विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भईसकेको छ । जसमा अजित आफैंले कलाकारको रुपमा समेत काम गरेका थिए ।

सोही कथालाई परिमार्जन गरेर कथानक चलचित्र लाज निर्माण गर्नको लागि आफूले पूर्णवहादुरको सारंगीका निर्माता एवम् बाँसुरी फिल्मस्का अध्यक्ष रामबाबु गुरुङलाई लाजको स्कृप्ट दुई वर्ष अघि पठाएको लामिछानेको भनाई छ ।

आफूले चलचित्र लाजको कथा दुई वर्ष अघि पूर्णबहादुरको सारंगीका निर्देशक सरोज पौडेललाई पनि सुनाएको कलाकार तथा लेखक लामिछानेले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दिएको उजुरीमा जिकिर गरेका छन् ।

तर यतिबेला चलचित्र पूर्र्णबहादुरको सारँगी हेरेपछि आफ्नो चलचित्र लाजको कथा र प्लट चोरिएको जानकारी पाएको लेखक तथा कलाकार अजित लामिछानेले उजुरीमा उल्लेख गरेका छन् ।

चलचित्र लेखक तथा कलाकार लामिछानेले निर्माणधिन चलचित्र लाजको स्कृप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा २०७७ पुष १३ गते दर्ता गराएर प्रमाणपत्र समेत लिएका थिए । सो प्रमाणपत्रमा चलचित्र लाजको स्कृप्ट २०७१ सालमै लेखिएको पनि उल्लेख गरिएको छ ।

चलचित्र पूर्णबहादुरको सारंगीलाई कथा चोरीको आरोप दोश्रो पटक लागेको हो । यसअघि पनि नवलपुरका पत्रकार एवम् लेखक डा. श्यामशंकर बस्यालले आफ्नो उपन्यास ‘संग्रामपुर’को कथा चोरेर चलचित्र पूर्णबहादुरको सारंगी निर्माण गरेको आरोप लगाएका थिए ।

पूर्णबहादुरको सारंगीलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराईली लगायतको अभिनय छ ।