१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्न थाले मनाङका नदी र ताल



अ+ अ-

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् ।

मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले बताउनुभयो । उहाँका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन् ।

चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताउनुभयो । उहाँका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्याधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बावजुत पनि मनाङका ताल हेर्न पर्यटक आउने क्रम जारी छ ।

हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिँउले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरु चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेका पाइएको छ । रासस