२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी



अ+ अ-

म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।

“बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भन्नुभयो “त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।”

बीस रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तला बिक्री भइसकेको र थप रु। चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताउनुभयो । हाल दुई ५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ ।

पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै के.सी. मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्नुहुन्छ । सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।

“विदेशबाट फर्केपछि माछा, भैसी र बंगुर पाले,” उहाँले भन्नुभयो “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो । भैसीबाट आम्दानी राम्रै भएपनि धेरै दुःख र झञ्जट भयो । सुन्तला र मौरी ब्यवसायबाट सफलता मिल्यो ।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ ।

मौरी सहितको प्रतिघार मौरी रु. १० हजारका दरले बिक्री हुन्छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ । ब्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन् । सुन्तला खेती र मौरीपालनबाट केसीको जिवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् ।

किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरुले ब्यवसायिक सुन्तला खेती गरेका छन् । सुर्केमेलामा सुन्तला खेती गर्ने पहिलो कृषक केसी हुनुहुन्छ । चार सय बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताउनुभयो ।

बर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा रु. दश लाख भन्दा बढी कमाई हुने उहाँले बताउनुभयो । सिचाई सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ । रसिलो, स्वादिलो सुन्तला काठमाडौ, पोखरा, बेनीका ब्यापारीले किनेर लैजान्छन् । सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन् । रासस