४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन

सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन
अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् ।

सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु भएको पनि पूर्णता पाउन नसकेको बताउनुभयो । उहाँले मौलिकता झल्काउने गरी सङ्ग्रहालय बनाउनुपर्छ भन्दा सुनुवाइ नगरी कङ्क्रिटका भवनगायतका संरचना बनाउन सुरु गरे तिनले पूर्णता नपाउनु दुःखद भएको धारणा राख्नुभयो । “सङ्ग्रहालयका लागि बनिरहेका संरचनाप्रति म व्यक्तिगत रूपमा सन्तुष्ट छैन । सुरूदेखि नै सङ्ग्रहालयका लागि कङ्क्रिट संरचना नबनाउ भनेकै तर सुनुवाइ भएन । काम सुरु भयो, केही भवनमात्रै बनाउने काम भएको छ तर यस्तो अवस्थामा कहिले कामले पूर्णता पाएर सञ्चालनमा आउने हो टुङ्गो छैन”, सचिव तिवारीले भन्नुभयो ।

यहाँका विभिन्न स्थानमा १३औँ शताब्दीमा निर्माण भएका चारवटा ऐतिहासिक देवल रहेका छन् । तीमध्ये तीन वटा सङ्ग्रहालयस्थल भन्दा बाहिर छन् । ती तीनवटै देवललाई काँडेतारले सुरक्षा गरिएका छन् । सोही गाउँमा तीबाहेक विभिन्न स्थानमा आठवटा सम्पदा रहेका सिञ्जा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सङ्ग्रहालयका लागि निर्माण गरिएका भवन सिमेन्ट, सरिया र जस्ता पाताको प्रयोग गरेर बनाइएका छन् । त्यहाँ साना ठूला गरी तीन वटा कङ्क्रिट भवन छन् । सोही स्थानमा रहेको परम्परागत माटोको घर भने जीर्ण बनेर भत्किँदै गएको छ ।

स्थानीयवासी उमेश बुढाले सिञ्जाको ऐतिहासिक पक्ष र यहाँको मौलिकता संरक्षणका लागि बनाइएको सङ्ग्रहालयको बाँकी काम सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

सङ्ग्रहालयका लागि एक करोड ३४ लाख लगानी

नेपाली खस भाषाको उद्गमस्थल रहेको सिञ्जामा कर्णाली प्रदेश सरकार र भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा सङ्ग्रहालय निर्माण हुन थालेको ६ वर्ष भयो । विसं २०७६ मै रु ५० लाखको लागतमा सङ्ग्रहालय निर्माण सुरु गरिएको थियो । हालसम्म सङ्घ, प्रदेश र स्थानीय सरकारको रु एक करोड ३४ लाखभन्दा बढी खर्च भइसकेको छ । यहाँ सिञ्जा गाउँपालिकाले समेत लगानी गरिरहेको छ । सुरुमा सङ्घीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा खर्च भयो । बाँकी रु ३० लाख पर्खाल निर्माणमा खर्च भएको खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव तिवारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको रु २५ लाख लगानीमा पुस्तकालय भवन र रु आठ लाखमा परम्परागत भवन निर्माण सुरु भएको थियो । उक्त भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । रु ५१ लाखको लागतमा सङ्ग्रहालय भवन निर्माण गरिएको छ । यसमा कर्णाली प्रदेश सरकारको रु १० लाख र गाउँपालिकाको रु ४१ लाख खर्च भएको छ ।

सिञ्जा सभ्यताको संरक्षण र प्रवर्द्धनमा टेपा पुग्ने

विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेको इतिहास छ । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको इतिहासकारहरूले भन्ने गरेका छन् । यहाँ शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराटदरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति छन् तर तिनको संरक्षण हुन सकेको छैन । हाल तिनका भग्नावशेष मात्रै भेटिन्छन् । सङ्ग्रहालय क्षेत्रमा १२ देखि १५औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख अहिलेसम्म सुरक्षित रहेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । उहाँले आगामी वैशाखसम्म बाँकी काम सम्पन्न गरी सङ्ग्रहालय सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । “सङ्ग्रहालय सञ्चालनमा आएन भनेरै सबैले गुनासो गरिरहेका छन् । वास्तवमै यो यस क्षेत्रको ऐतिहासिक महत्वसँग जोडिएको बहुप्रतिक्षित योजना हो । यस विषयमा हामी सबै चिन्तित छौँ”, अध्यक्ष धितालले भन्नुभयो,“यो सञ्चालनमा आएमा सभ्याता संरक्षण मात्रै होइन, आन्तरिक तथा बाह्य पर्यटनदेखि खस भाषासम्बन्धी अनुसन्धान र अवलोकन सहज हुनेछ ।”

सङ्ग्रहालय नाग्म–गमगढी सडक खण्डअन्तर्गत सिञ्जा हुँदै मुगु राराताल जाने बाटो नजिककै रहेको छ । यसको निर्माण सम्पन्न भएमा राराताल जानेहरूलाई पनि आकर्षित गरी पर्यटन प्रवर्द्धन लाई आकर्षण गर्न गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । रासस