२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारबाट दर्शकमाझ आउँदै फिल्म ‘अग्निदहन’



अ+ अ-

काठमाडौं । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ । समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको चासो छ ।

फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन् । ‘हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौं । यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन निर्माण गरेका हौं’, उनी भन्छन् ।

उनले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए । ‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं । अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौं’, उनले भने ।

उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र सल्लाहमा आफूहरुले भोजपुरी र मैथिली भाषामा पनि फिल्म तयार पारेको खुलाए । ‘उहाँहरुले पूर्ण रुपमा मधेश प्रदेश र तराईका २२ वटा जिल्लामा अभियान चलाउनु होला भन्नु भएपछि भोजपुरी र मैथिली भाषामा पनि डबिङ गर्यौ’, उनले भने ।

केही समयअघि भारतको बिहारस्थित सितामढीमा यो फिल्म प्रदर्शन गरिएको थियो । उनले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने ।