२८ पुष २०८१, आईतवार
,
Latest
एफए कप: म्यान्चेस्टर युनाइटेडले आर्सनललाई पेनाल्टीमा हरायो सरकारले गर्‍यो १३ जना सचिवको सरुवा, दुईलाई कामुको जिम्मेवारी मन्त्रालयलाई कुलमानको जवाफ: नियुक्ति रद्द गर्ने भन्ने विषय विधिसम्मत छैन सदन छलेर अध्यादेश ल्याएकामा नागरिक समाजको गम्भीर आपत्ती दक्षिण एसियाली स्ट्रिट डिफेन्समा नेपालको वर्चस्व महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण: कृषि मन्त्रीअधिकारी विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित



अ+ अ-

भजनी, (कैलाली) । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै जानुभएको छ । आफ्नै क्षमताले काम गर्न रुचाउने उहाँ एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित हुनुभएको हो । उहाँले २०६८ सालबाट टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आउनुभएको छ । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबका बीच सफल व्यवसायी बन्नुभएका थापा आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताउनुहुन्छ ।

काठमाडौँ पढ्दै गर्दा बुबासँग विवाद भयो । उहाँलाई रु ५० हजारसम्म कमाउने जागिर खान सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । म बुबाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागेँ ।”

हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता मिल्दै गयो । त्यसले परिवारमा पनि एकताको वातावरण सृजना भयो । उहाँले बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लग्नुभयो ।

एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौँ । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए । उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी मैले बचत गर्थे”, निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना सङ्क्रमणको समयमा सुस्त भए पनि विस्तारै उद्योगले पुरानै लय समात्न लागेको थापाले बताउनुभयो । विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुनेमा थापा विश्वस्त हुनुहुन्छ । विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा व्यवसायले झन् खुसी थप्ने काम गरेको थापाले बताउनुभयो ।

उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता थापामा थियो । उता राजनीतिक कुल घरानामा जन्मिएका उहाँलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खानसक्ने स्थिति थियो । किनभने बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसक्नुभएको थियो । उहाँ नेकपा ९एमाले०को कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारीसमेत पूरा गरिसक्नुभएको छ ।

“म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ । त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ”, थापा भन्नुहुन्छ, “उहाँहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो । “आफ्नो व्यवसायबाट अन्य आठ–दश जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफूलाई गर्व लाग्ने थापाको भनाइ छ ।

सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरुको सिको गरेर अगाडि बढ्न नहुने धारणा व्यक्त गर्नुहुन्छ । “मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनुपर्दैन । मैले नि:स्वार्थ गरेको सेवा उसैले थाहा पाए पुग्छ”, उहाँले भन्नुभयो, “यहाँ गलत राजनीतिक संस्कार भएर पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन । तर कुनै दलको सिद्धान्तभन्दा बाहिर रहेर नि:स्वार्थ समाजसेवामा लाग्ने रहर भने छ ।” उहाँबाटै सिकेर कैयौँले ब्लक उद्योगसमेत सञ्चालन गरेका छन् । रासस