काठमाडौं । यतिखेर माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा छ । हुनत उनी अहिले जनताका बीचमा गएको बताउँदै दिनदिनै केही न केही नयाँ कुरा गरिरहेका छन्, सरकारलाई दोषारोपण गर्दै । तर अहिले उनले दिएको एक अभिव्यक्तिले उनलाई विवाद पनि पारेको छ र बजारमा बहस पनि सिर्जना गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीले चाइना कार्ड खेल्न लागेको भनेर उनले राखेको धारणा नै अहिलेको विरोध र विवादास्पद अभिव्यक्ति बनेको धेरैको बुझाई छ ।
प्रधानमन्त्री ओली यसै महिनाको मध्यतिर औपचारिक भ्रमणका लागि चीन जाँदै छन् । उनी यही मंसिरको १७ गते चीन प्रस्थान गर्ने लगभग निश्चित भएको छ र सोही बमोजिम परराष्ट्र मन्त्रालयले तयारी पनि थालेको छ । प्रधानमन्त्री कार्यालय आसन्न चीन भ्रमणका क्रममा राख्नुपर्ने एजेण्डका लागि जुटेको छ भने नेपालका सबैजसो मन्त्रालयसँग यसअघिको अवस्था र अब राख्नुपर्ने मागहरुका बारेमा एजेण्डाहरु पनि सरकारले मागेको छ ।
ओली प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमणका रुपमा उनी चीन जाँदै छन् । उनी गत असोजको सुरुमा संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका गएका थिए भने अहिले यो दोस्रो भ्रमणका क्रममा चीन जाँदैछन् । योसँगै एक नयाँ विषयको प्रसंग पनि बजारमा बहसमा भने छ । किनभने यसअघिका प्राय नेपालका सबैजसो प्रधानमन्त्रीहरु आफ्नो पहिलो विदेश भ्रमणका रुपमा भारत जाने गरेकोमा यसपटक ओली चीन जान लागेको हुन् ।
तर यतिमात्र नभएर माओवादी अध्यक्ष प्रचण्डले भने यो प्रसंगलाई निकै फरक र अस्वाभाविक रुपमा टिप्पणी गरेका छन् । उनले ओलीलाई चीन भ्रमणमा जान लागेकामा पहिला भारत नगएर चीन गएको भन्दै ओलीले नेपालमा चाइना कार्ड प्रयोग गरेको भन्ने सम्मको टिप्पणी गरेका छन् । नेपालको कूटनीतिक बजारमा केही दिनअघिसम्म भारतले नेपालका प्रधानन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठायो या पठाएन भन्ने चर्चा थियो ।
यो पनि पढ्नुहोस- प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति
अहिले त्यो चर्चा पनि सेलाएर अब चीन भ्रमणको तयारीमा सिंगो कूटनीतिक बृत्त पनि जुटेको देखिएको छ । किनभने सो बृत्तका जानकारहरु भन्छन्, भारत र चीन नेपालका दुई ठूला छिमेकी देश भएकाले हामीले दुबैको मान र सम्मानलाई एकै कोटिमा राख्न सक्नुपर्छ । हाम्रा कूटनीतिक एवं भूराजनीतिक अवस्था र अवस्थितिले यो दुवैतर्फ बराबर रुपमा सन्तुलनमा राख्न सक्नुपर्छ । नेपालको आर्थिक र सामाजिक जीवनमा यी दुवै देशको भूमिका समान रहेको छ ।
प्रधानमन्त्री ओलीलाई यस पटक भारतभन्दा पहिला चीनले निमन्त्रणा दियो उनी त्यतै जान थाले । भोलि चीनबाट फर्र्किएपछि भारतको निमन्त्रणा आयो भने भारत पनि प्रधानमन्त्री ओली जान्छन् नै । फेरि वर्तमान सरकार आफै भारत जाने भन्दा पनि यसपटक भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको छ भन्ने अभिव्यक्ति सरकारकै आइरहेको छ । भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि प्रधानमन्त्री ओलीको निमन्त्रणा भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेको र उहाँले उपयुक्त समय मिलाएर आफू नेपाल आउने कुरा बताएको भनेकी थिइन् ।
हाम्रा लागि समान रहेका दुई छिमेकी मुलुकको कूटनीतिक संवेदनशीलताको ख्याल नै नगरी माओवादी अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिनु कत्तिको जायज हो ? यसले भारतको पक्ष बोलिदिएको भन्ने अर्थ उनी आफैले लगाए पनि यता चीनतर्फको सम्बन्धमा असर गर्छ कि गर्दैन ? तीन तीन पटक मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिले चीन र भारतलाई यसरी आपसमा तौलेर यस्तो धारणा सार्वजनिक गर्न मिल्छ कि मिल्दैन ?
उनको यस्तो हल्का अभिव्यक्तिले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको राष्ट्रको कूटनीतिक सम्बन्धको मजाक हुन्छ कि हुँदैन ? हो, उनको वर्तमान सरकारसँग अथवा एमाले होस् या अन्य पार्टी विशेषसँग असहमति होला । अनि यस्तो असहमतिलाई कूटनीतिक मजाक गरेर यसप्रकारको हल्का अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? यतिखेर उनको आफ्नै पार्टीका यस क्षेत्रका व्यक्तिहरुले पनि यो प्रश्न गरिरहेका छन् ।
उनी गत असारको अन्त्यतिर सरकारबाट हट्नुपर्यो । नेपाली काँग्रेस र एमाले मिलेर वर्तमान सत्ता गठबन्धन बन्यो र उनी सत्ताबाट हट्नुपर्यो । सत्ताबाट निस्किनुपरेपछि उनले त्यतिबेलै आफूलाई र आफूलाई मात्र नभएर बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई पनि अमेरिकाले सत्ताबाट हटाएको बताएका थिए । त्यस समय उनको यो अभिव्यक्तिको पनि निकै विरोध भएको थियो ।
तर अहिले त त्यो भन्दा पनि अझ गम्भीर र संवेदनशिल रुपमा प्रचण्डले प्रधानमन्त्री ओली पहिला भारत जानुपर्नेमा भारतले निम्ता नदिएपछि चीन जान लागेका मात्र भनेका छैनन् ओलीले चीन कार्ड खेलेको प्रतिक्रिया नै दिएका छन् । उनको यो गैरजिम्मेबार अभिव्यक्ति हल्का मात्र होइन कि गम्भीर गैरजिम्मेबार पनि हो । आफू सत्ताबाट निस्किनुपर्ने कारणलाई विदेशीको दोष भनेर देख्ने प्रचण्डको दोषी चश्माले उनको र उनको पार्टीको त भलो गर्दैन नै यसले नेपालको भूराजनीतिक संवेदनशीलतामा पनि ठूलो असर पार्ने देखिन्छ ।