२६ भाद्र २०८३, शुक्रबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के कुम्भकर्ण हिमालयको मौलिक नाम र सांस्कृतिक पहिचान  नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता भोटेकोशी बाढीको १७औँ दिन : १,३८५ को शव भेटियो, पुनर्निर्माणमा साढे ६ खर्ब लाग्ने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने : न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुम्भकर्ण हिमालयको मौलिक नाम र सांस्कृतिक पहिचान 



अ+ अ-

हिमाच्छादित पवित्र शैलश्रेणी, सुन्दर वन्यभूमि, पावननदी, पुण्यधाम, देवस्थल, तीर्थ एवं कुण्डद्वारा शोभायमान भू-भागले यो नेपालभूमि अनादिकालदेखि नै देवभूमि, पुण्यभूमिका रूपमा प्रसिद्ध छ।

रत्नप्रचुर प्राकृतिक सम्पदालाई समेटेको यस नेपाली भूगोलको आश्रयमा बसेका अनेकौं तपस्वीहरुको तपोभूमि, दिव्यात्माहरुको वासस्थली आज पनि हिमालयका कन्दराहरु अध्यात्म-जिज्ञासुहरुका लागि आकर्षकका केन्द्र बनेका छन् ।

हिमालय बाह्रै मास हिमाच्छन्न रहनाले हिमवान्, हिमाल, हिमाद्री आदि नामले सम्बोधन गरिन्छ। ‘सर्वतोभावेन सर्वोत्कृष्टतया विराजमान्’ हुने र विश्वका पर्वतहरुमा उच्चतम हुनाले गिरिराज पनि भनिन्छ।

हिमाल वा पहाडहरुलाई पर्वत, गिरि (ऋग्वेद १.३७.७) जस्तो शव्दको उल्लेख गरिएको पाँइन्छ। हिमालय ऋषिहरुको तपस्या स्थल, शक्तिको पवित्र निवास स्थल र शिवको विश्रामलय वस्तुतः हिमालय आनन्दको महिमालय हो। महाकवि कालिदासले देवतात्मा भनेर हिमालयको आध्यात्मिक स्वरुपको सङ्केत गरेका छन् –

अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज:

पूर्वापरौ तोयनिधी वगाह्य स्थित: पृथिव्या ईव मानदण्ड: ।।

 (कुमारसम्भव, .)

अर्थात् “उत्तर दिशामा,हिमालय भनेर चिनिने एक दिव्य प्राणी छ, जसलाई पहाडहरु राजा भनिन्छ। पूर्व र पश्चिमा समुद्रहरु बगिरहेका छन् , जसको सार पृथ्वीको नाप जस्तै छ।” यो श्लोक भौगोलिक विशेषताहरु, वैदिक ब्रह्माण्ड विज्ञान र आध्यात्मिकतामा तिनीहरुको महत्त्वको प्रशंसा पाइन्छ। यसले सनातन परम्परामा एक शक्तिशाली र पवित्र अस्तित्वको रूपमा हिमालयको स्थितिलाई जोड दिन्छ। प्रकृति र देवत्व विचको सम्बन्धलाई चित्रण गर्दछ। श्लोकमा उत्तरी दिशामा हिमालय पर्वत शृङ्खलाको स्थानलाई संकेत गरेर सुरु हुन्छ।

यसले हिमालयलाई केवल भौगोलिक विशेषताको रुपमा नभई दिव्यताको अभिव्यक्ति रूपमा चित्रण गर्दछ। अर्को भागले हिमालयलाई पूर्व र पश्चिममा रहेका महासागरहरुको वर्णन  गर्दछ, जसलाई श्लोकमा तोयनिधी भनिन्छ। पहाड र महासागरको चित्रणले पृथ्वी र पानी दुवैलाई एकीकृत गर्दै प्राकृति संसारको विशालता र पूर्णतालाई चित्रण गर्दछ। हिमालय पर्वतहरुले अस्तित्वका विभिन्न पक्षहरू- स्थिरता र तरलता, स्थायित्व र परिवर्तन सन्तुलन सम्झाउदै भूगोल, प्रकृति र देवत्व विचको सम्बन्धलाई  जोड दिन्छ।

हिमालय प्राकृतिक रमणीयता वा भूदृश्यको अंश मात्र होइनन्, यो त अनगिन्ती रहस्य र किवदन्तीहरुले घेरिएको ठाउँ हो। जहाँ मानव जगतका विविध रहस्यहरु केलाउने ज्ञानभूमि हो। समस्त समृद्धिको श्रोत बनेको हिमालयका नितम्बभागबाट बग्ने सयौं नदि र सरोवरहरुले पौराणिक, धार्मिक र ऐतिहासिक तथ्यको चित्रण गर्छन् । जसको दर्शनका लागि लाखौं मानिसहरू यात्रा गर्छन् । हिमालयको समृद्ध लोककथाप्रति आकर्षित हुन्छन्, जुन धार्मिक विश्वास र रैथाने बासिन्दा वा मानिसहरूको जीवनसँग गहिरो रूपमा गासिएको हुन्छ।

हिमशिखरहरुले नेपालको प्राक्कालिन धार्मिक,  सांस्कृतिक  र भौगोलिक धरातलको छविलाई चित्रण गर्दछ। तत्कालीन जनजीवन र सामाजिक स्थिति सङ्केत हिमालयले गरेको पाँइन्छ। नेपालको जतिपनि नदिनाला, धार्मिक क्षेत्रहरू  र पर्वतहरु छन् , तिनीहरुको नामाकरण यहीँ भूमिमा निवासी समस्त जातिधर्मको मौलिक संस्कृति, किंवदन्ती र पौराणिक कथामा आधारित छन् ।

सांकृतिक अतिशय महिमा गाएको धार्मिक क्षेत्रमध्ये कञ्चनजङ्घा हिमाल अन्तर्गत एक महत्वपूर्ण पश्चिमी भाग कुम्भकर्ण हिमाल हो। पूर्वी नेपालमा अवस्थित कुम्भकर्ण हिमाल संसारको ३२ औँ अग्लो र नेपालको १५ औँ अग्लो हिमाल हो। समुद्र सतहबाट ७,७१०मिटर उचाईमा स्थित कुम्भकर्ण हिमाललाई  भूआकृतिको यथार्थस्वरुपमा चित्रण गरिएको पाँइन्छ। कुम्भकर्ण हिमालाई मौलिक रैथाने किराँत याथुङ्ग लिम्बु भाषामा  ‘फक्ताङ्लुङ्ग’ र सेर्पा भाषामा ‘जान्नु’ नामले परिचित छ भने पौराणिक कथा रामायणसँग जोडिएको नाम ‘कुम्भकर्ण’ हो।

कुम्भकर्ण हिमालको प्राचिनकालदेखि नै नाम परिवर्तन हुँदै आएको विषय निर्विवाद सर्वमान्य छ। पौराणिक कालदेखि नेपालमा आदिवासी जनजाति र वर्णाश्रम धर्मका अनुयायी ब्राह्मण, क्षत्रिय आदि जातिको सौहार्दपूर्ण सह-अस्तित्वको गौरवमय प्रागैतिहासिक सांस्कृतिक धरातलको छविलाई पनि हिमालयले चित्रण गर्दछ। कालको गति सधैं एकै नास हुँदैन। नेपालको लामो इतिहासमा विभिन्न वंशीय शासकहरुले शासन चलाए। इतिहासले हाम्रो जीवनस्पन्दन, भूगोल, धर्म, संस्कृति र सामाजिक जीवनशैली चित्रण गर्दछ। कुम्भकर्ण हिमालयले  किराँतकालीन घटनाको संकेत गरेको पाँइन्छ।

विश्वको तेस्रो अग्लो हिमालय कञ्चनजङ्घा अन्तर्गत कुम्भकर्ण पर्दछ र कञ्चनजङ्घा हिमालयको प्राचीन तथा मौलिक रैथाने नाम ‘सेसेलुङ्ग’ भनिन्थ्यो, भने कुम्भकर्ण हिमालयलाई ‘फक्ताङ्लुङ्ग’ भनिन्छ। उक्त प्राचीन मौलिक नामलाई अपभ्रंश गराई अर्थात्  नाम परिवर्तन गरि सेसेलुङ्ग को ठाउँमा कञ्चनजङ्घा र फक्ताङ्लुङ्ग को ठाउँमा कुम्भकर्ण बनाईएको पाँइन्छ। तत्कालीन नेपालका शासक द्वारा हिमालयको नामाकरण भएको हुनुपर्छ। यी नाम किरात याक्थुङ लिम्बु भाषामा रहेको छ। ‘फक्ताङ्लुङ्ग’ को अर्थ “काँधजस्तो रुप भएको ढुङ्गाको पहाड” हुन्छ।

किरात धर्मावलम्बीहरुले कुम्भकर्ण अर्थात्  ‘फक्ताङ्लुङ्ग’ हिमाललाई अति पवित्रभूमि देवताहरुको अधिष्ठान, मानवसृष्टि, सृष्टिविस्तार, सृष्टि प्रक्रिया सँग जगत् शिवशक्तिमय छ भन्ने तथ्यलाई मान्दछन्। किरात याक्थुङ लिम्बूहरुको आफ्नै धर्म हुन्छ, जसलाई किरात धर्म भनिन्छ। उनीहरुका विभिन्न देवीदेवताहरु छन्  तापनि ईश्वर एउटै छ भन्ने कुरामा विश्वास गर्दछन्। उनीहरुले  “तागेरा निङवाफुमाङ” लाई सर्वव्यापी परमात्माको रुपमा, सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ताको रुपमा आदि शक्तिको रुपमा मान्दछन्।

शिक्षा तथा समाजसुधारक किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनज्यूले किरात शैवधर्मावलम्बी भएको र किरातहरुको उपास्य देवता शिव (थेवामाङ) हुन् र उनकै शक्ति पार्वती (युमामाङ) हुन् । साथै देवदर्शन एवं शिवशक्तिको आराधनालाई मुख्य बताउनुभएको पाँइन्छ। त्यसैले कुम्भकर्ण हिमालयलाई शिवमय भूमि ऊर्जाको केन्द्र मानुभएको थियो। वि सं. १९९५ मा पहिलो पल्ट र वि सं. १९९८ मा महागुरु फाल्गुनन्दज्यूले आफ्ना शिष्य सहयोगिहरुसित कुम्भकर्ण हिमालययात्रा गर्नुभयो।

महागुरु फाल्गुनन्दज्यूले तत्कालीन समाज, आफ्ना चेलाहरु र भावी पीँडीलाई “सकेसम्म वर्षको एकपटक हिमालय यात्रामा निस्कनु, नसके जीवनमा एकपटक हिमालय यात्रा गर्नुपर्ने।” मार्गदर्शन गर्नुभएको कथन आज पनि सबैका निमित्त प्रेरणादायक बनेर रहेको छ। साधकहरुका प्रखर साधनाका प्रभावबाट आलोकित हिमालयका कन्दराहरु आज पनि अध्यात्म-जिज्ञासुहरुका लागि आकर्षकको केन्द्र बनेका छन्  र भौतिकतामा डुबेकालाई समेत आनन्द प्रदान गर्दै मोहित पारेको छ।

महागुरु फाल्गुनन्दज्यूले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गतेका दिन सत्यधर्म मुचुल्का‘ खडा गर्नुभयो। उहाँको यस उद्घोषले विश्व शान्ति र सम्पूर्ण मानवजातिको कल्याणको निमित्त अत्यावश्यकीय कार्यको शुभारम्भ हुनपुगेको थियो। सो कार्य किरात दाजुभाइ तथा दिदीबहिनीको लागि मार्गदर्शनको उद्घाटन रह्यो। महागुरु फाल्गुनन्दज्यूको सत्प्रयासले तत्कालीन दिग्भ्रमित समाजलाई    सन्मार्ग, सत्कर्म, सत्संग र ज्ञानमार्गमा डोर्‍याउन थियो। किनभने भावी सन्ततिलाई आकार दिन र सभ्य समाज निर्माण   गर्नु थियो।

विकृत मानसिकता, दुर्व्यसन, कुकर्म र अज्ञानको अन्धकारमा रुमल्लिरहेका सन्ततिलाई लक्ष्यबोध गराउन थियो। प्रत्येक कर्मको मूल आधार ज्ञान, भक्ति र उपासना भएको हुँदा, त्यस्तै ज्ञान मार्गका निमित्त मानव मनोबिकारको क्षयका लागि उपयुक्त मार्गदर्शन गराउनमा महागुरु फाल्गुनन्दज्यूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको थियो।

अर्कोतर्फ रामयणका योद्धासँग जोडिएको नाम ‘कुम्भकर्ण’ हो। शास्त्रले पौराणिक कथा, धर्म, भूगोल, अनुष्ठान र आध्यात्मिकतालाई एउटै ठुलो संयोजन गर्दछ। अर्कोतर्फ प्रारम्भिक इतिहासका अंशहरुको पनि चित्रण गर्दछ। कुम्भकर्ण रामायणका सबैभन्दा शक्तिशाली योद्धा थिए। लंकाका शक्तिशाली राजा रावणका कान्छा भाइ थिए। ऋषि विश्रवा र कैकेसीबाट जन्मेका कुम्भकर्णलाई असाधारण शारीरिक शक्ति प्राप्त थियोे। उनलाई रावण र मेघनाथभन्दा बढी शक्तिशाली भनिन्छ, जो प्रायः देवताहरुको आक्रामक वरदानमा भर पर्थे। उनको मुखको तुलना पातल र हिमालय पर्वतको आकारसँग गरिन्छ। यसरी पुराणमा आएका कतिपय इतिहासमूलक घटनाहरुलाई लोकमर्यादित सहि रूपमा बुझ्न र धार्मिक चेतना बढाउन हाम्रा पूर्वजहरुले पर्वतको नाम ‘कुम्भकर्ण’ राखेको हुनसक्ने विश्वास भने गर्नसकिन्छ।

अर्कोतर्फ शास्त्रसम्मत दृष्टिबाट हेर्दा उनको शारीरिक शक्तिको लाक्षणिक विशेषतासँग पर्वतको भौगोलिक संरचनालाई आधार मानी नामाकरण हुनसक्ने एउटा आधार मानिन्छ तर केहि सान्दर्भिक भएता पनि पर्याप्त भने होइन। रामायणमा कुम्भकर्ण आफ्नो परिवारप्रति जिम्मेवार, वफादारीका लागि परिचित थिए। रावणको कार्य गलत थियो भन्ने थाहा हुँदाहुँदै पनि उनी आफ्नो भाईप्रति वफादरी रहे। वफादारी प्रशंसनीय भए पनि हानिकारक कार्यलाई आँखा चिम्लेर समर्थन गर्दा विनाशकारी परिणाम हुन सक्छ। युद्ध गर्न बाध्य पारिएपछि, उनीले अपार बहादुरी प्रदर्शन गरे, उनको शक्तिले युद्धभूमि हल्लियो र रामले पनि उनको शक्तिलाई चिन्ने। यद्यपि  धार्मिकताको सट्टा वफादारी रोजे। कुम्भकर्ण अन्ततः युद्धमा मारिए।

 वस्तुतः कुम्भकर्ण हिमालय लगायत अन्य हिमालय पर्वतहरुले हाम्रा प्राक्कालीन नेपाली इतिहास, संस्कृती र सभ्यताका तथ्यको सत्यापनका आधारहरू प्रामाणिकता स्थापित गर्न मद्दत गर्दछ। हाम्रो भौगोलिक अवस्थिति र विशेषताका कारण नेपालमण्डलको जनजीवन र सामाजिक जीवनशैलीका साथै हिमाली मिथकहरु यस क्षेत्रको सांस्कृतिक विरासतलाई सँगालेरको छ।

पौराणिक, धार्मिक र ऎतिहासिक महत्त्व राख्ने सयौं नदि र सरोवरहरुको उद्गमस्थल हिमालय अन्ततः बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधताले सजिएको हिमालय पालित देश- जहाँ धर्म, संस्कृती, रीतिरिवाज र सभ्यताका संवाहक हाम्रा तत्ववादी पूर्वजहरुले खडा गरिएको विरासतमा उभिएका छौँ। त्यहीँ भूमिमा देवत्वको दर्शन, ऋषि-मुनिका ज्ञानको सुगन्ध र विरहरुद्वारा रचित इतिहासमा सजीवताको आभास गर्दछौं।