२६ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित न्यूनतम अधिकारबाट वञ्चित मधेशका दृष्टिविहीन अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा



अ+ अ-

काठमाडौँ, २६ भदौः नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ । शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ ।

नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो । सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी-२० फम्र्याटमा खेलाइएको थियो । ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो । सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो । यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।

तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका

पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो । नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्‍याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ ।

नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । टी-२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो । सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ ।

युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ । उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो । सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो । युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ । यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन ।

समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो । सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो । १४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो । उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्‍यो ।

नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ । एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो । विगतमा भएका महत्वपूर्ण प्रतियोगितामा नेपालका लागि युएई बाधक बनेको थियो । सोही कारण यसपटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ ।

उहाँले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताउनुभयो । “फाइनल हुने मैदानमा धेरै पिच छन् । कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ । सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ”, नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहनुभएका चौधरीले रासससँग भन्नुभयो ।

‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उहाँको विश्लेषण छ । नेपालभन्दा बढी दबाब युएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बताउनुभयो ।

“पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने युएईविरुद्ध नेपाल हाबी भइरहेको छ । त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन् । त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन । फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ”, उहाँले भन्नुभयो ।

युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन् । उनीहरूभन्दा अन्तरराष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन् । नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने पूर्वक्रिकेटर चौधरीको भनाइ छ ।

“युएईको टोलीमा धेरैजसो भारतीयमूलका खेलाडी छन् । उनीहरूसँग एसोसियट र अन्तरराष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन । त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ । हाम्रो बलिङ र फिल्डिङ उत्कृष्ट छ । ब्याटिङमा थप राम्रो गर्न सके उपाधि जित्न सक्छौँ”, उहाँले भन्नुभयो ।

नेपाल र युएईबीचको विगत

एकदिवसीय अन्तरराष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ । युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले युएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो ।

उक्त आइसिसी विश्वकप लिग-२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो । सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ । लोकेश धामी/रासस