२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ ।

यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले  जानकारी दिनुभयो । चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिनुभयो ।

यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

मार्गशीर्ष कृष्ण प्रतिपदामा दुवै रथलाई मन्दिर वरपर घुमाइ गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई त्यस दिन बेलुकी नै चारुमती बिहारमा लगेर बिसाइएको थियो । जात्रा करिब ३५० वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल सम्बत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात् गराएको स्थानीयको भनाइ छ । श्री चन्द्रविनायक तथा भैरवनाथको रथयात्रा कार्तिक शुक्ल पूर्णिमा अर्थात् शुक्रबारदेखि सुरु भएको हो ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । मार्गशीर्ष कृष्ण तृतीयाका दिन अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि जात्रा सम्पन्न हुन्छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा चाबहिल क्षेत्रमा सिन्दूरजात्रा गर्ने परम्परा रहिआएको जनाइएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमामा चाबहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा हर्षोल्लासका साथ मनाउने परम्परा भूपालेन्द्र मल्लका पालादेखि नै रहिआएको जनाइएको छ । रासस